बन्दाबन्दी खुल्यो, सडक खुलेन

Posted on: 29 Jul, 2020

साउन १४, मनाङ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकभर गरिएको बन्दाबन्दी खुलेसँगै मानिसको दैनिकी सामान्यरुपमा फैर्किदैछन् । 

बजारमा किनमेल र दैनिक कामकाजका लागि वातावरण सहज हुँदै जाँदा सर्वसाधारण काममा फर्किन थालेका छन् । बन्दाबन्दीमा घर गएका धेरैजसो ठाउँका व्यक्ति काममा फर्किने क्रम बढेको छ । 

मनसुन शुरु भएसँगै परेको वर्षाले पहिरा खस्दा हिमालपारीको जिल्ला मनाङ जाने एकमात्र बेँसीशहर–चामे सडक लामो समय भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । यस सडकखण्डको ठाउँ–ठाउँमा पहिरा खस्दा सवारी आवागमन ठप्प भएको १३ औँ दिन बितिसकेको छ । बाढीपहिराले स्थानीय जनजीवन कष्टकर बनाएको छ भने पैदलयात्रु ज्यानै जोखिममा राखेर हिँड्न बाध्य भएका छन् ।

बेँसीशहरबाट चामे मनाङ सडकखण्डमा पर्ने बेलाउँती, बिसाउनी, ङादी र मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चे र मनाङ नासों गाउँपालिका–१ म्यार्दी भिरको पहिरोले  आवगमन ठप्प भएको छ । गत साउन २ गतेदेखि परिरहेको अविरल वर्षाका कारण यो सडकखण्ड पूर्णरुपमा अवरुद्ध हुँदा समस्या भएको छ । यात्रु ज्यान जोखिममा राखेर हिँड्न बाध्य छन् भने खाद्यान्नलगायत विकास निर्माणका सामग्री ढुवानी गर्न कठिन भएको छ ।  

“बाटो खुल्ला र सामान लैजाउँला भन्दाभन्दै १३ दिन बितिसक्यो, अझै खुल्ने मेसो देखिएन, बेँसीशहर बसेको पनि १४ दिन भयो”, मनाङ नासोंका राजु गुरुङले भन्नुभयो । उपभोक्ता समितिको मातहतमा निर्माण भइरहेका खानेपानीलगायतका साना आयोजना समयमा काम सम्पन्न हुन सकेका छैनन् । 

त्यस्तै मनाङ र लमजुङ जिल्ला प्रशासनको पहलमा सडक डिभिजन कार्यालयले दुवैतर्फ बाटो खुलाउने प्रयास गरे पनि पहिरो खस्ने क्रम नरोकिएकाले अझै केही समय लाग्ने जनाएको छ । निरन्तर परेको पानीले थप समस्या परेको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताउनुभयो । उहाँका अनुसार यस सडकखण्डमा जताततै पहिरो खसेको हुँदा काम गर्ने कामदारलाई पनि निकै सास्ती भइरहेको छ । सडक समयमा नखुल्दा बिरामी कर्मचारी र सर्वसाधारण मर्कामा परेका छन् ।

बन्दाबन्दीमा घर फर्किएका कामदार काममा फर्किने क्रम जारी छ । तर सडक सहज नहुँदा जोखिममा यात्रा गरिरहेका छन् । रसुवा, धादिङ, नुवाकोट र गोरखालगायतका जिल्लाबाट कामदार मनाङका गाउँमा सडक, खानेपानी र भवन निर्माणजस्ता काम गर्ने गर्छन् । बन्दाबन्दी खुलेसँगै काममा हिँडेका कामदारसमेत सडक सञ्चालन नहुँदा कठिनाइका साथ जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको रसुवाबाट मनाङ जाँदै गरेका कामदार कान्छा लामाले बताउनुभयो । “बाटो खुल्ने आशामा तीन दिन बेँसीशहर बसेको थिएँ, तर बाटो खुल्ने अवस्था नदेखिएपछि जोखिम मोलेरै हिडेको हुँ”, उहाँले भन्नुभयो । 

बेँसीशहरदेखि चामेसम्म जम्मा ६५ किलोमिटर दूरी रहेको यस सडकखण्डमा ३५ किलोमिटर लमजुङमा पर्छ । उक्त सडक खण्डको झण्डै सबै क्षेत्र पहिराको जोखिममा छ । यस सडकमा वर्षेनी पहिराले गर्दा सास्ती खेप्दै आएको स्थानीयवासीको गुनासो छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!