मनाङको आलु काठमाडौँतिर

Posted on: 07 Sep, 2017

भदौ २२, मनाङ। बजारको अभावमा कुहिएर फाल्नु पर्ने मनाङको आलु अहिले काठमाडौँ भित्रिन थालेको छ । 

मोटरबाटो नहुँदा यहाँ उत्पादन भएको स्वादिलो आलु जिल्ला बाहिर जान सकेको थिएन । 

जब मोटर बाटो आयो, सानै भएपनि सवारीसाधन चल्न थाले र यहाँका उत्पादन देशका कुनाकुनामा पुग्न थाले । हिमालपारिको जिल्ला मनाङ आलुखेतीको लागि प्रख्यात छ । नेपालमा अर्गानिक खेती हुने जिल्लामध्ये मनाङ अग्रपंक्तिमा पर्छ । 

यहाँको प्रमुख बालीमध्ये आलुलाई लिइन्छ । अहिले आलु खन्ने समय भएको छ । वर्षको एक पटकमात्र खेतीपाती गरिने भएपनि यहाँको उत्पादनले नेपालीको मात्रै नभई विदेशीको मन जितेको छ । 

आलुलाई तरकारीको राजाको रुपमा लिइन्छ, त्यसमाथि मनाङको अर्गानिक आलुको कुरै बेग्लै । यहाँ आउने नेपाली पर्यटक हुन् या विदेशी पर्यटक पाएसम्म स्वादिलो आलुको परिकार खान रुचाउँछन् । मनाङका प्राय होटलमा आलुका विभिन्न परिकार बनिरहेका हुन्छन् । 

मनाङका होटलमा खपत भएर आफूहरुले खानेबाहेक बाँकी सबै आलु खेर जानेगरेको आलुले अहिले भने बजार पाएको छ । 

आफूलाई गुजाराका लागि मात्र खेती गर्ने गरेका यहाँका कृषकले अहिले भने व्यावसायिक रुपमा आलुखेती गर्न थालेका छन् भने मनग्ये आम्दानी पनि गर्न थालेको बताउँछन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!