नेपालकै अग्लो मनाङको झोलुङ्गे पुल

Posted on: 05 Sep, 2018

भदौ २०, मनाङ | मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन् । खोलाको पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको यस पुलको लम्बाई १३५ मिटर रहेको छ । 

केही दिनअघि नाशोङ गाउँपालिकाका इञ्जिनीयर सुभास पाण्डेयलगायतका टोलीले नाप जाँच गरेपछि पुलको वास्तविक उचाइ पत्ता लागेको हो । चार वर्षअघि नै पुल निर्माण गरिए पनि यसको वास्तविक उचाइ सार्वजनिक भएको थिएन । 

विसं २०७२ मा निर्माण भएको यस पुल विश्वकै पाँचौं नम्बरमा पर्छ । हालसम्म विश्वको तथ्याङ्क हेर्दा सबैभन्दा अग्लो पुल चीनमा छ । चीनको डुङ्ग्रे ब्रिज ५६५ मिटर अग्लो छ । त्यस्तै, चीनकै सिदु पुल ४९६, पुल्ली पुल ४८५, एचीपुल ४३४ मिटर अग्लो छ । 

चीनका ती चारवटा पुलपछि ड्रोनाखोलामा निर्माण भएको पुल नै अग्लो भएको दाबी स्थानीयवासीको छ । हालसम्म नेपालको अग्लो झोलुङ्गे पुल भनेर चिनिएको पर्वत कुश्माको पुलको उचाइ जम्मा १६६ मिटर छ । ‘हामीले प्राविधिक हिसाबले नै नापजाँच गरेका हौँ । पुलको वास्तविक उचाइ ४१२ मिटर छ, इञ्जिनीयर पाण्डेयले भने, ‘अब यसको प्रचार देशभरि गर्नुपर्छ । यसले पनि मनाङको पर्यटन बढाउन सहयोग गर्छ ।’ 

‘‘हामीलाई हाम्रो सम्पत्ति नै थाहा भएन । नत्र पहिले नै प्रचार गरिसक्थ्यौं,’ नाशोङ गाउँपालिका–२ का वडाध्यक्ष भीमबहादुर गुरुङले भने, ‘विकट जिल्ला र अशिक्षाका कारणले पनि पछि परिरहेका छौं ।’ गाउँलेलाई हिँडडुल गर्न चार वर्षअघि यस पुल बनाइएको हो । मनास्लु पदमार्गमा पर्ने झोलुङ्गे पुल लार्के पास र भोटमा नुन लिन जाने पुरानो बाटो पनि हो । 

खोलामा पुल नहुँदा धेरै सास्ती ब्यहोरेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए । पुललाई सम्पदाको रुपमा स्थापित गरिदिन आग्रह गर्दै उनले तिलिचो तालजस्तै यस पुललाई पनि विश्वमा चिनाउन सकिने भएकाले यसको प्रचारप्रसार गरिदिन सरकारसँग आग्रह गरे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!