प्रदेश नं ३ का मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

Posted on: 03 Jun, 2019

जेठ २०, हेटौँडा ।प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो । 

मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबारबाट भर्ना हुनुभएको हो । ७३ वर्षीय पौडेल प्रदेशसभा सदस्य मध्ये ज्येष्ठ हुनुहुन्छ । निक्कै नै सक्रिय दैनिकी भएका पौडेल बुढ्यौली, उच्च रक्त चाप तथा मधुमेहका बाबजुद पनि दैनिक १८ घण्टासम्म क्रियाशील रहने जनाइएको छ । उहाँको यसअघि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतीया बिन्दुको शल्यक्रिया गरिएको थियो ।

पौडेलको गङ्गालाल हृदय रोग निवारण केन्द्रका विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । अस्पतालका चिकित्सकका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ । अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रम स्थगित गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । मुख्यमन्त्री पौडेल अस्पताल भर्ना हुनुभएपछि यही जेठ २४ र २५ गते हेटौँडामा हुन गइरहेको प्रदेश समन्वय परिषद्को  बैठकसमेत प्रभावित हुने भएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!