मुख्यमन्त्री पौडेलद्वारा पूर्वी मकवानपुरको अनुगमन

Posted on: 23 Jun, 2020

असार ९, हेटौँडा। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूर्वी मकवानपुरमा रहेका महत्वपूर्ण परियोजनाहरुको अनुगमन गर्नुभएको छ । सोमबार पूर्र्वी मकवानपुरको बकैया तथा वाग्मती गाउँपालिका पुग्नुभएका मुख्यमन्त्री पौडेलले उक्त क्षेत्रमा भइरहेका समग्र विकास निर्माणका बारेमा जानकारी लिनुका साथै छिमेकी जिल्ला सिन्धुलीलाई मकवानपुरसँग जोड्ने मदन भण्डारी राजमार्ग (धरान–चतारा)अन्तर्गत वाग्मती नदीमा निर्माणाधीन पुलको अवलोकन गर्नुभएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।

पुलको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले विगतमा पुल निर्माणको काम सन्तोषजनक नभएको भए पनि हाल भएको कामले आशा जगाएको बताउनुभयो । उहाँले अझै सोचेअनुसारको काम भने हुन नसकेको उल्लेख गर्नुभयो । पौडेलले प्रदेशका विभिन्न जिल्लालाई राजधानी हेटौँडासँग जोड्न धरान–चतरा सडकखण्डअन्तर्गतको उक्त पुल महत्वपूर्ण हुने बताउनुभयो । पुल निर्माणपछि प्रदेश राजधानी हेटौँडासँग सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लालाई सडक सञ्जालसँग सहजरूपमा जोड्न सकिने उहाँको भनाइ थियो ।

पूर्वपश्चिम राजमार्गमा भइरहेको सवारी चापलाई घटाउने र विभिन्न कारणले हुने अवरोधको विकल्पसमेत हुने भएकाले हेटौँडा–धरान सडक महत्वपूर्ण मानिएको छ । तीन सय १८ किलोमिटर लामो यो सडकले धरानलाई चतरा, गाईघाट, सिन्धुली हुँदै मकवानपुरको हेटौँडासँग जोड्छ । हाल हेटौँडा–सिन्धुली र सिन्धुली–उदयपुर गरी दुई खण्डमा सडक निर्माणको काम दु्रतगतिमा चलिरहेको जनाइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!