५३ करोडको लागतमा मकवानपुरमा पाँचवटा पक्की पुल निर्माण

Posted on: 26 Jul, 2020

साउन ११, वाग्मती। मकवानपुरको मनहरी गाउँपालिकाले भौतिक पूर्वाधार विकास योजनाअन्तर्गत चालु आर्थिक वर्षमा रु ५३ करोडको लागतमा विभिन्न स्थानमा पाँचवटा पक्की पुल निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।  

दुई वर्ष ६ महिना निर्माण कार्ययोजना रहेको सो पुलको निर्माणका लागि  बोलपत्रसमेत आह्वान भएको सो गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार गाउँपालिका–१ देखि ४ सम्मको विभिन्न खोलामा  निर्माण गरिने पुलको चौडाइ करिब ६ मिटर हुने बताइएको छ ।  

उक्त पुल निर्माणको लागि हाल रु १२ करोड बजेट विनियोजन भइसकेको छ  । गाउँपालिका–१ देखि वडा ४ सम्म निर्माण हुने पक्की पुलबाट त्यहाँका करिब ५०० घरपरिवार लाभान्वित हुने र आवागमनमा सजिलो हुने बताइएको छ । यस्तै गाउँपालिका–३ को टाग्राखोला, वडा नं १ को फसिन खोला, च्यापल खोला, हाँडीखोला र  ढाडोखोलामा पुल निर्माण हुने भएको छ । वडा नं ३ को हाँडिखोला पुलमा सबैभन्दा कम रु आठ करोड र ढाडोखोलामा  सबैभन्दा बढी रु १३ करोडको लागतमा पुल निर्माण हुने अनुमान गरिएको छ ।  

गाउँपालिकाले गत आर्थिक वर्षमा शुरु गरेको पैदलमार्गको झोलुङ्गे पुल पनि यस वर्ष निर्माण सम्पन्न हुने गाउँपालिकाबाट थाहा भएको छ  । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीका अनुसार गत आर्थिक वर्षमा स–साना गरी करिब दुई दर्जन पुल निर्माण भइसकेको जानकारी दिइएको छ । अध्यक्ष उप्रेतीले गाउँपालिकाको आर्थिक र व्यावसायिक विकास तथा आवागमनको कामलाई सहज बनाउन पुल र सडक निर्माणमा जोड दिइएको जानकारी दिनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!