हेटौँडाको बजेट एक अर्ब ८१ करोड

Posted on: 25 Jun, 2019

असार १०, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि रु एक अर्ब ८१ करोड १८ लाखको बजेट ल्याएको छ । उपमहानगरपालिकाको पाँचौँ नगरसभा बैठकमा बजेट प्रस्तुत गरिएको हो ।

उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाले प्रस्तुत गर्नुभएकोे बजेटमा आन्तरिक स्रोतबाट रु ३० करोड ३४ लाख ९१ हजार, राजश्व बाँडफाँटबाट रु ४५ करोड ८४ लाख नौ हजार, प्रदेश नं ३ सरकारको विभिन्न अनुदानबाट रु आठ करोड ३४ लाख ९९ हजारको बजेट प्रस्ताव गरिएको छ । त्यसैगरी सङ्घीय सरकारको अनुदानबाट रु ८६ करोड ६४ लाख प्राप्त हुन जनाइएको छ । उपमहानगरपालिकाको गत वर्षको नगद मौज्दातबाट रु १० करोड बेहोरिने उपप्रमुख लामाले बताउनुभयो ।

बजेटमा तलब, भत्तालगायत दैनिक कार्यालय सञ्चालन र अन्य प्रशासनिक खर्चका लागि रु १९ करोड १४ लाख ४० हजार विनियोजित गरिएको उपप्रमुख लामाले बताउनुभयो । कार्यालयको सुशासनतर्फमा रु छ करोड ४५ लाख ८९ हजार छुट्याइएको छ । नगरको सामाजिक क्षेत्रतर्फका कार्यक्रमका लागि रु ५८ करोड ५५ लाख ४३ हजार छुट्याइएको छ । उपमहानगरपालिकाले पूर्वाधार विकासका लागि रु ८६ करोड १२ लाख ५० हजार छुट्याइएको उपप्रमुख लामाले बताउनुभयो ।

नागरिकलाई खुशी बनाउने बजेट आवश्यक

मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिक रमाउने खालको विकास आवश्यक रहेको बताउनुभएको छ । त्यसका लागि नागरिकलाई खुशी बनाउने खालको बजेट ल्याउनुपर्ने उहाँको धारणा थियो । 

हेटौँडा उपमहानगरपालिकाको पाँचाँै नगरसभामा मुख्यमन्त्री पौडेलले उत्पादन र रोजगार सृजना हुनेखालको बजेट बनाउन सके मात्र राम्रो हुने बताउनुभयो । 

मुख्यमन्त्री पौडेलले विकास निरन्तर चलिरहने प्रक्रिया भएकाले एक पटकको बजेटले मात्रै खासै फरक नपार्ने भन्दै बजेटले आगामी दिनमा समानुपातिक विकासलाई समेट्नुपर्ने धारणा राख्नुभयो । विकासका लागि पैसा वा अर्थ मात्रै ठूलो कुरा नभएको बताउँदै मुख्यमन्त्री पौडेलले योजना प्रमुख कुरा भएको बताउनुभयो । 

हेटौँडाको शहीद स्मारक ९० हजार लागतमा शुरु भएको योजना आज देशकै चर्चित पर्यटकीय गन्तव्यका रुपमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले कार्यान्वयनमा इमान्दारिता र लगनशीलता भए विकास र समृद्धि सम्भव भएको बताउनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सामाजिक रुपान्तरण गर्ने कार्यक्रम अघि सार्नुपर्ने बताउनुभयो । हेटौँडा उपमहनगरपालिकाका प्रमुख हरिबहादुर महतले कामको गति छिटो भएको तर त्यसअनुसार कानून नभएकाले समस्या सृजना भएको बताउनुभयो । हेटौँडामा सडक फराकिलो बनाउने कामसँगै फूलै फूलको शहरका रुपमा विकास गर्नका लागि आफू लागिपरेको बताउँदै प्रमुख महतले पाँच वर्षको आफ्नो कार्यकालमा हेटौँडालाई नमूना शहरका रुपमा विकास गरिने बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!