मकवानपुरमा महिलामैत्री हाते ट्र्याक्टर वितरण

Posted on: 12 Mar, 2018

फागुन २८, हेटाँैडा | मकवानपुरको मार्खु र फाखेलका कृषक समूहलाई सातवटा हाते ट्र्याक्टर वितरण गरिएकोे छ । 

महिला कृषिमै आत्मनिर्भर भएको हुनाले उनीहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले कृषक समूहलाई महिलामैत्री हाते ट्र्याक्टर वितरण गरिएको हो । 

मार्खुमा तीन र फाखेलमा चारवटा ट्र्याक्टर इन्द्रसरोवर कृषि सहकारी संस्था र कृषक समूहलाई वितरण गरिएको छ । नारी सीप सिर्जना केन्द्र मकवानपुरले अक्सफाम नेपालसँगको साझेदारीमा सञ्चालित मकवानपुर जीविकोपार्जन पुर्नउत्थान परियोजनाअन्तर्गत ट्र्याक्टर वितरण गरेको हो । 

इन्द्रसरोवर गाउँपालिका–१ का वडाध्यक्ष जमानसिंह वाइवाको प्रमुख अतिथ्य तथा इन्द्रसरोवर कृषि सहकारीका सचिव सानु लामाको अध्यक्षतामा मार्खुमा वितरण गरिएको हो । 

त्यस्तै फाखेलमा गरिएको वितरण कार्यक्रम इन्द्रसरोवर–४ का वडाध्यक्ष धनवीर स्याङ्तानको प्रमुख अतिथ्यतामा गरिएको थियो । दुवै कार्यक्रममा नारी सीप सिर्जना केन्द्रकी उपाध्यक्ष गणेशकुमारी श्रेष्ठलगायतको अतिथ्यता रहेको थियो । 

मकवानपुरको भूकम्प प्रभावित साविक गाउँ विकास समितिहरु चित्लाङ, मार्खु, कुलेखानी, सिस्नेरी, फाखेल, नामटार, भार्ता र कालिकाटार गरी आठ गाविस परियोजनाको कार्यक्षेत्र रहेको छ । परियोजनाअन्तर्गत अन्य छ कार्यक्षेत्रमा समेत गरी २१ थान ट्र्याक्टर वितरण गरिने कार्यक्रम संयोजक राजेन्द्र ढकालले जानकारी दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!