इमेलबाट पठाए राजीनामा डिभी परेर अमेरिका उडेका वडाध्यक्षले

Posted on: 22 Aug, 2019

भदौ ५, काठमाडौँ |  मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङले निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका इमेलमार्फत राजीनामा पठाएका छन् । पाँच महिनाअघि गत चैतमा अमेरिका उडेका घिसिङले बुधबार राजीनामा दिएको इमेल गाउँपालिकामा पठाएका हुन् । 

तीन महिनाका लागि विदा लिएका घिसिङ पाँच महिनासम्म वडा कार्यालय फर्केका थिएनन्। वडाध्यक्षले इमेलबाट राजीनामा पत्र पठाएको गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन कुँवर बताएका छन्  | उनका अनुसार वडाध्यक्ष घिसिङले घरायसी कामकाजका कारण पूरा कार्यकाल सेवा गर्न नपाएको राजीनामा पत्रमा लेखेका छन् ।

‘कुरियर गरेर पठाएको राजिनामा पत्र गाउँपालिकामा प्राप्त भएपछि बैठक बसेर राजिनामा स्वीकृत भएपछि मात्रै पद रिक्त हुन्छ अनि उपनिर्वाचनको कुरा आउँछ,’ उनले भने । घिसिङ अमेरिका उडेपछि वडा कार्यालय पाँच महिनादेखि प्रमुख विहीन छ।

घिसिङ तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । वडा सदस्य नमराज अधिकारीले वडा कार्यालयको जिम्मेवारी लिँदै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!