१२ वर्षदेखि अलपत्र विद्युत् प्रसारणको निर्माण कार्य शुरु

Posted on: 13 Oct, 2020

असोज २७, वाग्मती । विगत १२ वर्षदेखि अलपत्र रहेको २२० के भीको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निमार्ण पुनः शुरु भएको छ । हेटौँडा–भरतपुर र भरतपुर–बर्दघाट गरी दुईखण्डमा निर्माण प्रसारणको काम सन्तोषजनक नभएपछि प्राधिकरणले भारतीय र चिनियाँ कम्पनीको ठेकेदार कम्पनीको सम्झौता तोडेको थियो । 

सम्झौता तोडिएको लामो समयपछि प्रसारण लाइनको निर्माण काम शुरु भएको आयोजनाका प्रमुख ईश्वरीप्रसाद जैसवालले जानकारी दिनुभयो । हेटौँडा–भरतपुर खण्डको ठेक्का भारतीय कम्पनी आइकम टेल र भरतपुर–बर्दघाट खण्डको ठेक्का चिनियाँ सेन्ट्रल पावर ग्रिड नामक कम्पनीलाई दिएको तर काममा ढिलाइ गरेपछि सम्झौता तोडिएको बताइएको छ । अहिले पनि हेटौँडा–भरतपुर खण्डमा भारतीय र भरतपुर–बर्दघाट खण्डमा चिनियाँ कम्पनीलले ठेक्का पाएको छ । 

आयोजना सञ्चालनका लागि विसं २०६५ मा टेक्का सम्झौता गरेर २०६६ मा प्रसारण लाइनको काम शुरु ग्रिएको थियो । पाँच वर्षमा निर्माण कार्य सम्पन्न गर्नपर्ने काम विगत १२ वर्षमा ५० प्रतिशत निर्माण काम मात्र भएपछि  ठेक्का सम्झौता तोडेर नयाँ सम्झौता गरिएको प्रमुख जैसवालले भन्नुभयो ।   

विश्व बैंक र नेपाल सरकारको सहयोगमा निर्माण भइरहेको उक्त प्रसारण लाइनको भरतपुर–बर्दघाट खण्डका ७५ किमी लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको  आयोजनाले जनाएको छ । कोरोना महामारीले काममा केही सुस्तता छाएको भए पनि यस खण्डको ७५ किमी लाइनको २४६ टावरमध्ये २३० वटाको फाउण्डेशन निर्माण कार्य सकिएको छ । दुई सय १४ वटा टावर खडा गरिएको र पाँच किमी तार तान्ने काम सकिएको छ । अहिले पनि त्यस खण्डको दुम्कीवास र देउचुरीको मुण्डीमा स्थानीयको विभिन्न माग राखी अवरोध कायम रहेको जैसवालले बताउनुभयो । नयाँ ठेक्का सम्झौता भई परिचालन भएकाले अबको दुई वर्षमा प्रसारण लाइनको बाँकी काम सम्पन्न गरिने विश्वास लिइएको छ । 

यसअघिको ठेकेदारले यो खण्डमा निर्माण हुने २२६ टावरमध्ये १७१ वटाको फाउण्डेशन  निर्माण कार्य सकिएको छ । एक सय १७ वटा टावर खडा गरिएको छ । दश किमीभन्दा बढी तार तान्ने काम सम्पन्न भएको छ । त्यस खण्डमा आयोजनाले पाँच हजार रुख काट्ने प्रक्रिया अगाडि बढाइएको उहाँको भर्ना रहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!