महोत्तरीमा सर्पले डस्दा एक जनाको ज्यान गयो

Posted on: 20 Jul, 2019

साउन ४, गौशाला । महोत्तरीको बर्दिवास नगरपालिका–२ मा सर्पले डस्दा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी ४५ वर्षीय शिवनाथ महतो रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । 

बर्दिवास–४ मा चिया पसल सञ्चालन गर्दै आएका महतोलाई पसलमै सर्पले डसेको हो । उनको उपचारका क्रममा बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा मृत्यु भएको थियो ।  

सामुदायिक भवन बगाएपछि बिचल्ली

महोत्तरीको भङ्गाहा नगरपालिका–२ सिङ्ग्याहीस्थित सामुदायिक भवन बाढीले बगाएपछि दलितबस्ती आश्रयबिहीन बनेको छ । गतवर्ष निर्माण गरिएको सो भवन आज रातु नदीको बाढीले बगाएको हो । 

यसअघि यहाँका बाढी विस्थापित सो सामुदायिक भवनमा बस्दै आएका थिए । असार अन्तिम साताको बाढीले घर बगाएपछि दलित बस्तीका २० परिवार सो भवनमा बस्दै आएका थिए ।

“भवन बगेपछि हामी अलपत्र परेका छौँ”, हिरेन्द्र महराले भन्नुभयो । अब उनीहरुलाई ओत लाग्ने ठाउँको अभाव भएको छ । 

 दलित बस्तीमा आर्थिक वर्ष २०७४÷७५ मा नगरपालिकाले सामुदायिक भवन निर्माण गरेको थियो ।

भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बाढी विस्थापितलाई राहत सामग्री तथा उद्धारको प्रयास गरिरहेको बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!