महोत्तरीमा बाढीले बगाउँदा एक जनाको मृत्यु

Posted on: 17 Jul, 2019

साउन १, गौशाला । बाढीले बगाउँदा महोत्तरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका–९ बहुअर्वाका श्याम यादवका छोरा आठ वर्षीय पङ्कज रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो ।

घरबाट डेढ किलोमिटर पूर्व रहेका बिग्ही नदी नजिक आफ्ना हजुरबुबासँगै गएका पङ्कज फर्किने क्रममा बिग्ही नदीमा आएको बाढीले बगाउँदा मङ्गलबार बेलुका बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले नदीमा बेपत्ता बालक पङ्कजको खोजतलास गर्दै जाँदा आज दिउँसो बिग्ही नदीको बाढीले सोही वडामा बनाएको १५ फिट गहिरो दहमा उनको शव फेला परेको हो । 

बाढीका कारण उनीसहित छ जना बालक र एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

विपी राजमार्गमा शव बरामद

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३  गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेका छन् । विपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपामार्ग) को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकै मङ्गलबार मध्यरातमा थापा मृत फेला परेका हुन् ।

रात्रि नियमित गस्तीमा निस्केको प्रहरीले शव बरामद गरेको हो । घोप्टो परेको अवस्थामा मृत फेला परेका थापाको टाउको पछाडि चोट देखिएको छ । शव नजिकै थापाको प्रदेश–०२–००१प ३०५४ नंको स्कुटर ठिक अवस्थामा र हेलमेट भने फुटेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिनुभयो । 

प्रहरीले अवस्था यकिन गर्न शव तत्काल बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पु¥याएको थियो । त्यहाँ चिकित्सकले मृत घोषणा गरेपछि शव परीक्षणका लागि अहिले जनकपुर अञ्चल अस्पताल पठाउन लागिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । घटना सडक दुघर्टना वा नियोजित नै पनि हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे सुक्ष्म अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!