सिउरुङमा पर्यटकको चहलपहल बढ्यो

Posted on: 20 Mar, 2017


चैत ७, लमजुङ । उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । 

हिमपातका कारण अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि विदेशी पर्यटक ग्रामीण पर्यटकीय गाउँ सिउरुङ पुगेका हुन् । हप्ता दिनसम्म मनाङमा परेको हिमपातले अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि बाह्य पर्यटक सिउरुङ आइपुगेको पर्यटन विकास समितीका सचिव उमरबहादुर गुरुङले बताउनुभयो । 

“सिउरुङमा पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढ्दो छ,” उहाँले भन्नुभयो । यहाँ दैनिक १०–१२ जना विदेशी पर्यटक आउने गरेका छन् । गाउँमा पर्यटकीय चहलपहल बढेपछि स्थानीय उत्साहित भएका छन् । पर्यटकलाई राम्रो सेवा र सुविधा दिन यहाँका १५ घरमा व्यवस्थित घरबास पूर्वाधार निर्माण गरिएको छ । 

सिउरुङलाई २०६२ सालबाट पर्यटकीय गाउँ बनाउने अभियानमा गाउँले लागेका हुन् । समुद्री सतहदेखि एक हजार ८५४ मिटर उचाइमा अवस्थित सिउरुङमा एक सय १५ घर रहेका छन् । प्राकृतिक सुन्दरता, गुरुङ संस्कृतिमा प्रख्यात सिउरुङ गाउँ जैविक विविधताले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । 

सिउरुङमा स्थानीय आमा समूहको सक्रियतामा सामूहिक पाहुना घर निर्माण गरिएको छ । आमा समूहले नै नाचगान गरी जम्मा गरेको पैसाले पाहुनाघर बनाएका छन् । स्थानीय महिला गाउँ घुम्न आउने पाहुना स्वागत सत्कारका लािग यही समूह घरमा जम्मा हुने गर्छ । 

गाउँमा पुग्ने पाहुनालाई सामूहिक पाहुना घरमा राखेर सत्कार गर्नु, सोरेठी, घाँटू, कृष्णचरित्र, लोकदोहोरी, रोधिलगायतका परम्परागत नृत्य प्रस्तुत गर्नु सिउरुङबासीको चलन नै भएको गुरुङ बताउनुहुन्छ । 

स्थानीयवासीले गाउँमै उत्पादन गरेका मकै, धान, कोदोलगायत हरियो सागसब्जी, गेडागुडी, गाउँमै पालिएका भेडा, खसी तथा कुखुराको मासु खुवाउने गर्छन् । स्थानीयको स्वागत सत्कार र सम्मानले पर्यटकलाई लोभ्याउने गरेको छ । 

गुरुङ जातिका पुराना संस्कृति तथा संस्कार जोगाइराख्न पनि यस्ता कार्यक्रम उपायेगी भएको छ । बुढापाकाले धान्दै आएका यस्ता कार्यक्रम पछिल्लो समय युवायुवतीले पनि सिको गर्दै आएका छन् । 

सिउरुङबाट मनास्लु, माछापुच्छे«, बौद्ध, लमजुङ, अन्नपूर्णलगायतका हिमाल आँखै अगाडि देखिन्छन् । यहाँबाट सूर्योदयको दृश्य समेत हेर्न सकिन्छ । सदरमुकाम बँेसीसहरदेखि सिउरुङ गाउँसम्म मोटर पुगेको छ । हिँडेर आउन नसक्नेका लागि सडक बनेपछि सहज भएको छ । बँेसीसहरदेखि खुदी अर्खलेसम्म करिब दुई घन्टा गाडीमा यात्रा गरी करिब चार घन्टाको पैदलमार्गबाट पनि सिउरुङ पुग्न सकिन्छ । 

सिउरुङसँगै ताघ्रिङको कालाघिरिङ छापा र मिप्रा गाउँ पनि होमस्टेका रुपमा विकास भएका गाउँ हुन् । सिउरुङबाट थुर्जु–दूधपोखरी हँुदै कास्की जिल्लाको पर्यटकीय गाँउ सिक्लेस–ताङतिङ जाने बाटो समेत छ । 

सिउरुङ गाउँबाट कालाघिरिङ हँुदै अन्नपुर्ण पदयात्रा मार्गको च्याम्चे र नामुनभञ्ज्याङ हुँदै मनाङ पुग्ने दुईवटा बाटो रहेको छ । पदमार्ग सञ्चालन हुनसके पर्यटकको बसाइँ लम्बाउन सकिने स्थानीयवासी बताउँछन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!