काठमाडौँमा बसको ठक्करबाट एकको मृत्यु

Posted on: 23 Feb, 2019

फागुन ११, काठमाडौँ | बसुन्धरामा बसको ठक्करबाट एक शिक्षकको मृत्यु भएको छ । आज बिहान ७:१५ बजे महाराजगञ्जबाट नयाँ बसपार्क आउँदै गरेको बा४ख ८४०७ नंको सार्वजनिक यातायात प्रालिले ठक्कर दिँदा बा५५प २९९ नंको मोटरसाइकलमा सवार ३९ वर्षीय प्रदीप न्यौपानेको मृत्यु भएको हो । 

लमजुङ सुन्दरबजार नगरपालिका–४ धारापानी घर भई हाल वनस्थली बस्ने घाइते न्यौपानेको उपचारका क्रममा ग्रिनसिटी अस्पताल बसुन्धरामा निधन भएको महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख झलकबहादुर थापामगरले जानकारी दिनुभयो । 

नेपाल मोडल माध्यामिक विद्यालय बसुन्धराका अध्यक्षसमेत रहनुभएका मृतक न्यौपानेले साउथ वेस्र्टन कलेज बसुन्धरामा भौतिक विज्ञान तथा गणित विषयमा लामो समयदेखि शिक्षण गर्दै आउनुभएको थियो । दुर्घटना गराउने बसका चालक रामेछापका २३ वर्षीय मेखबहादुर कार्की र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!