नख्खु–बुङ्गमती सडकमा काम २५ प्रतिशत

Posted on: 12 Feb, 2019

माघ २९, ललितपुर | ठेक्का सम्झौता शुरु भएको दुईवर्ष नाघिसक्दा नख्खु खोलाबाट भँैसेपाटी हुँदै बुङ्गमतीसम्म सडक २५ प्रतिशत मात्रै काम भएको छ । 

ठेक्का सम्झौताको म्याद आगामी साउनसम्म रहेको तर भौतिक प्रगति भने ज्यादै कम देखिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडकको सीमाङ्कन गर्न ढिलाइ गरेकाले कार्यान्वयनमा ढिलाइ भएको आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार प्राधिकरणले चिन्ह लगाएर सडक खाली गराएपछि आयोजनाले ठेकेदारमार्फत विस्तारित सडकमा निर्माणको कामअघि बढाउँछ । यस सडकको केही स्थानमा विद्युत्, टेलिफोनको तार र कतिपय स्थानमा रुखसमेत हटिनसकेको इञ्जिनीयर श्रेष्ठको भनाइ थियो । ठेकेदारलाई सहज गराउन सम्बन्धित स्थान खाली गर्नुपर्नेमा उहाँको जोड थियो । 

इञ्जिनीयर श्रेष्ठले भन्नुभयो, “त्यहाँ रहेका पोल र पाइप नहटाउँदासम्म ठेकेदारले काम नगरेको हामी भन्न सक्दैनौँ ।” पाँच किलोमिटर लामो सो सडक निर्माणको ठेक्का दुई ठेकेदार कम्पनीलाई दिइएको छ । विसं २०७३ असारदेखि सडक निर्माण गर्न थालिएको थियो । 

यो सडकजस्तै काठमाडौँ उपत्यकामा १२ वटा सडक निर्माणाधीन रहेकामा अधिकांशमा जग्गा र घरको मुआव्जा विवाद रहेको छ । यी सडकमा निर्माणाधीन सडकको ठेक्का सम्झौता अवधि सकिँदा वा थोरै समय बाँकी हुँदा पनि भौतिक प्रगति भने कम छ । कतिपय सडक निर्माणको काम सर्वोच्च अदालतको अन्तरिम आदेशका कारणले पनि ठप्प छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!