ललितपुर महानगरपालिकाले ल्यायो ‘बीउ एटिएम’ सञ्चालनमा

Posted on: 11 Aug, 2019

साउन २६, काठमाडौँ  | ललितपुर महानगरपालिकाले ‘बीउ एटिएम’ पनि सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाले शहरी खेती साझेदारी कार्यक्रम अन्तरगत कृषकहरुलाई उन्नतस्तरको बीउ एटियममार्फत् उपलब्ध गराउने गरी सो एटिएम सञ्चालनमा ल्याएको हो ।

आईतबार ललितपुरमा एक कार्यक्रमका बीच कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीको उपस्थितिमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सो प्रविधिको पनि उद्घाटन गरेका हुन् । उनले सहरी कृषकहरुको उत्पादनमा बढावा दिने उद्देश्यका साथ उन्नत बीउ विजन वितरणका लागि बीउ एटिएमको पनि व्यवस्था गरिएको स्पष्ट पारे ।

त्यसमा ३६ जातका तरकारी तथा फलफूलको उन्नत बीउ पाउने व्यवस्था पनि गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । २०, ५० र १०० मूल्यका सफा नोट एटियममा घुसाएपछि उनीहरुले चाहे अनुसारको बीउको चित्र आउने र सोही चित्रमा थिचेपछि आवश्यक बीउ प्राप्त गर्ने व्यवस्था सो एटिएममा गरिएको छ ।

ललितपुर महानगरपालिकाले ‘पानी एटिएम’ पनि सञ्चालन गरिसकेको छ । मेयर महर्जनले सहरी क्षेत्रको उचित व्यवस्थापनका लागि ‘साईकल लेन’ को व्यवस्था गर्ने कामलाई पनि अघि बढाइएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव जिसीले प्रदेश र स्थानीय सरकारसँग मिलेर कृषि उत्पादनमा बढावा दिन नयाँ–नयाँ प्रविधिको विकास गर्न सरकार तयार रहेको बताए । उनले कृषिमा निर्भर मुलुकलाई अघि बढाउन कृषि क्षेत्रको विकासमा तीनवटै तहबीच मिलेर काम गर्नुपर्नेमा पनि जोड दिए ।

ललितपुर महानगरपालिकाले नौं लाख लगानीमा स्थापना गरेको सो मेशिनको सेवा सबै वडामा सञ्चालनमा ल्याउने तयारी पनि गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!