ललितपुर समाचार : सडक शिलान्यासदेखि बिजनेस क्लिनिक शुरुआतसम्म

Posted on: 18 Sep, 2020

सुभानु आचार्य । असोज २, ललितपुर । ललितपुर महानगरपालिका वडा नं १५ स्थित स्वीमिङ्पुलदेखि ओलम्पिक कमिटी कार्यालयसम्मको सडक खण्ड शिलान्यास गरिएको छ । भित्रिसडक निर्माण गर्ने योजनानुरुप तीन चरणअन्तर्गत २१ सडक निर्माण अघि बढाउने उद्देश्यका साथ महानगर प्रमुख चिरीबाबु महर्जनले यो सडक शिलान्यास गर्नुभएको हो । 

सो सडक खण्डको लम्बाई ३४० मिटर रहेको छ । एक्काइस वटै सडकको लम्बाई भने ८ दशमलव ६२ किलोमिटर रहेको छ । यी सबै सडक निर्माणको खर्च रु दुई करोड ६८ लाख लाग्ने प्रमुख महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँभित्र बन्ने सडक फराकिलो र गुणस्तरयुक्त हुनेछ ।” अब निर्माण हुने ती सडकको गुणस्तर प्राविधिक सहितको जनप्रतिनिधिले निरीक्षण गर्ने महर्जनको भनाइ थियो ।

महानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख रुद्र गौतमले अबको नौ महिनाभित्र १२ वटा सडकका निर्माण सक्नुपर्ने सम्झौता भएको र सो सडक निर्माण एउटै ठेकेदार कम्पनीले गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य बाँकी सडक निर्माणको काम पनि क्रमशः अघि बढाउने छौँ ।” महानगरको सम्बन्धित वडाबाट निर्माणको आवश्यकता माग भएपछि त्यसको सम्भाव्यता अध्ययन गरेर बजेटको सिलिङ हेरी योजना छान्ने गरेको गौतमले बताउनुभयो । वडाध्यक्ष सुदर्शन मिश्रले समयमै स्वीमिङ्पुलदेखि ओलम्पिक कमिटी कार्यालयसम्मको सडक खण्ड निर्माण सम्पन्न गर्न स्थानीय जनताको भूमिका अति महत्वपूर्ण रहेको औंल्याउनुभयो । उहाँले भन्नुभयो, “यस सडकको अनुगमन समय समयमा महानगरपालिकाका साथै वडाले पनि गर्ने छ ।” 

महालक्ष्मीका विभिन्न स्थानमा ‘कन्ट्र्याक्टलेस ह्यान्ड वास स्टेसन’

महालक्ष्मी नगरपालिकाको विभिन्न स्थानमा कन्ट्र्याक्टलेस ह्यान्ड वास स्टेसन अर्थात् हातले नछोइ साबुन र पानी झर्ने हातधुने ठाउँको व्यवस्था गरिएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीबाट नगरवासीलाई जोगाउन र पटकपटक हात धुने बानी लगाउन महालक्ष्मीको विभिन्न स्थानमा उक्त स्वास्थ्य साधन राखिएको हो । 

नगपालिकाले विभिन्न सङ्घसंस्थाको सहयोगमा यहाँका सामुदायिक विद्यालय, सार्वजनिक स्थान, बसपार्क, मन्दिर, स्वास्थ्य संस्था, वडाकार्यालय र बढी मानिस जमघटन हुने स्थानमा स्टेसन राखेको नगरपालिका विपद् व्यवस्थापन समितिका सदस्य सचिव प्रशान्तसिंह थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले दुई चरणमा गरेर नगरपालिकामा २२ स्टेसन राखेका छौं । भर्खरै १३ स्टेस राख्यौँ ।” महालक्ष्मीमा सो स्टेसनको व्यवस्था भएसँगै कोभिडको फैलावटमा कमी आउने थापाको भनाइ छ ।

‘पत्रपत्रिका तथा छापाखाना दर्ता शुक्रबार मात्र’

ललितपुरमा पत्रपत्रिका तथा छापाखाना दर्ता र विद्यान संशोधन शुक्रबार मात्र गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गरेका मापदण्डहरु अपनाई सेवा प्रवाह गर्ने जनाएको छ । 

सहायक प्रजिअ ललितकुमार बस्नेतका अनुसार प्रत्येक सेवामा दिनको २० जना भन्दा बढि सेवाग्राही नबढ्ने गरी नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नावालिग परिचयपत्र, राहदानी र हातहतियार दर्ता नविकरण आदि  गरिनेछ । महानगरमा आइतबार र सोमबार, ललितपुरका तीन गाउँपालिकामा मङ्गल र बुधबार अनि गोदावरी र महालक्ष्मी नगरपालिकामा बिहि र शुक्रबार लिन सकिने उल्लेख गरिएको छ । यसैगरी सङ्घसंस्था दर्ता सोमबार, बुधबार र सङ्घसंस्था नविकरण आइत, मङ्गल र बिहिबार गरिने छ । 

गोदावरीमा बिजनेस क्लिनिक 

गोदावरी उद्योग वाणिज्य सङ्घले बिजनेस अर्थात् व्यवसाय क्लिनिक छिट्टै सञ्चालनमा ल्याउने भएको छ । गोदावरी नगरक्षेत्रमा व्यापार व्यवसाय गरिरहेका वा गर्न इच्छुक व्यक्तिलाई मध्यनजर गर्दै सङ्घले यसबारे चाहिने सम्पूर्ण जानकारी प्रवाह गर्न उक्त क्लिनिक सञ्चालनमा ल्याउन लागेको हो । 

गोदावरीका कुनै पनि व्यक्तिले व्यापार वा व्यवसाय कसरी गर्ने, यसमा लाग्दा अपनाउनुपर्ने कानूनीलगायत अन्य विषयहरु र यसको व्यवस्थापन कसरी हुन्छ भन्ने आदि जानकारी क्लिनिकबाट पाउन सकिने सङ्घका अध्यक्ष जगनाथ महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यो जुनसुकै क्षेत्रमा लगानी गर्न इच्छुक व्यक्तिका लागि एउटा सिक्ने थलो हुनेछ ।” 

सङ्घले गोदावरीवासीलाई पहिलो प्राथमिकतामा राखेर सम्बन्धित विज्ञबाट कानूनका बारेमा जानकारी चाहिएमा कानूनविद्, व्यवस्थापनको जानकारी चाहिए व्यवस्थापन परामर्शदाता, लेखाको जानकारी चाहिए चार्टर्ड एकाउन्टेन्ट र बजार शास्त्रको जानकारी चाहिएमा बजार विशेषज्ञबाट राय र सल्लाह दिने व्यवस्थासमेत मिलाउने भएको महर्जनको भनाइ छ । नगरपालिकामा दुई हजार माथि सङ्ख्याका व्यवसायी दर्ता भएका छन् । सङ्घले गोदावरीलाई समृद्ध नगरपालिका बनाउन उक्त योजना अघि सारेको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!