खोटाङ घुमफिर: जाने हैन घुम्न टोड्केडाडाँ ?

Posted on: 28 Jan, 2018

चिसाङ शेर्पा | माघ १४, खोटाङ | आन्तरिक तथा बाह्य पर्यटकीय गन्तब्यका लागि प्रचुर संम्भावना बोकेको पर्यटकीय क्षेत्र हो टोड्केडाडाँ । रुपाकोट मझुवागढी नगरपालिका नुनथला–१३ भञ्ज्याङ पानीट्याङकी नजिकको रमणिय सुन्दरडाडाँ तथा सानाठूला सल्लाका रहर लाग्दा बुट्यानले घेरिएको सानो उपत्यका हो टोड्केडाडाँ । 


पृथ्वीनारायण शाहले युद्ध लडेको भौतिक संरचनाहरु अझैपनि यथावत रहेकाले टोड्केडाडाँ आश्चर्य र घतलाग्दो पर्यटकीय क्षेत्र बन्ने आधार भएको हो । युद्धताका पृथ्वीनारायणले टोड्केमा ओखलढुंगालाई परास्त गर्न र शत्रुबाट बच्नलाई बनाएको सुरुङले पर्यटक ह्वात्तै तान्ने आधार रहेको छ ।

‘टोड्के’ नाम कसरी रहन गयो भन्ने ईतिहास पत्ता नलागेपनि हालको हुर्लुङपाखा सामुदायिक वनभित्र ३० देखी ३५ रोपनी क्षेत्रफलमा पर्ने टोड्के परापुर्वक कालमा खार्पाली पोखरेलहरुको रहेको भन्ने ईतिहास छ । पोखरेलहरुले बस्तुलाई पानी खुवाउने आहाल, घोडालाई नुन खुवाउने ढुंगाा र विशिष्ट अतिथीलाई राख्न बनाएको ढुंगाका चिनोहरु यथावत रहेको स्थानिय तथा शिक्षक मणि लामाले बताउनुभयो ।


गाईभैसीलाई पानी खुवाउने आहाल हालसम्म पनि रहेको छ । यद्यपी, डाडाँमा त्यो वेला बर्षदिन हुने पानी कहाँबाट आउथ्यो थाहा नहुंदा अहिले आहाल सुख्खा रहेको छ । अन्य संरचनाहरु हालसम्म हुबहु रहेको छ । टोड्केबाट ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, भिमनगरपुल सोझै देख्ने सकिन्छ भने, नाङगो आखाँले सर्वोच्च शिखर सगरमाथा अवलोकनका लागि टोड्के उपर्युक्त पर्यटकीय स्थान हो ।  

प्रचारप्रसार अभावमा सयौवर्ष ओझेलमा परेको टोड्केलाई धनको श्रोत बनाउन नुनथलावासी र्जुमुराएका छन् । मुलुक संघिय संरचनामा गईसकेपछि वडा कार्यालयबाट डेढ लाख बजेट पदमार्गका लागि छुट्याईएसँगै स्थानिय तथा सरोकारवाला टोड्केलाई पर्यटकीय गन्तब्य बनाउन हौसिएका हुन् । 

निर्माण उपभोक्ता समिति गठन गरी माघ ६ गतेबाट पानीट्याङकी–टोड्के पदमार्ग बनाउन शुरु भएको छ । बजेट अभावमा हाललाई ५० मिटर लम्बाई २ मिटर चौडाईका स्टीमेटले पैदलमार्ग बनाउन थालिएको ‘पर्यटकीय क्षेत्र भञ्ज्याङ टोड्के पदमार्ग’ अध्यक्ष शुक्र तामाङले बताउनुभयो ।


टोड्केलाई पर्यटन पकड बनाउन समितिसँग थुप्रै ‘मास्टर प्लान’ भएको तर बजेट अभावमा हाललाई पदमार्गमात्रै बनाउन बजेट विनियोजन भएको पर्यटकीय क्षेत्र भञ्ज्याङ टोड्के पदमार्ग’ अध्यक्ष तामाङले जानकारी दिनुुभयो ।

नगरपालिकाभित्र तथा सदरमुकामबाट नजिक र मध्यपहाडी लोकमार्गको काखमा रहेको पर्यटकीय क्षेत्र टोड्केमा हाल एकवटा फुटबल ग्राउन सञ्चालनमा रहेको छ । पिकनिक स्पट, भ्यु टावर, होम स्टे आगामी दिनका पर्यटकीय योजना रहेको ला ज्यालो वाङ थोप गुम्बा निर्माण उपभोक्ता समितिका अध्यक्ष महेश तामाङले बताउनुभयो । गतबर्ष शंकरापुर प्याराग्लाईडिङको समेत परिक्षण उडानले टोड्के प्याराग्लाईडिङका लागि समेत उचित स्थान रहेको तामाङले बताए ।

रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित हुर्लुङ देउसेबाट शुरु हुने टोड्के पुग्ने २ पैदल बाटो रहेका छन् । सदरमुकाम दिक्तेलदेखी सवारीसाधनबाट १ घण्टा तथा पैदल डेढ घण्टामा देउसे र पानीट्याङकी पुगिन्छ । देउसेस्थित लोकिलबाट हिडेर २५ मिनेट, पानीट्याङदेखी १५ मिनेटमा सानो उपत्यका टोड्के पुग्न सकिन्छ ।

पुगेर ओखलढुंगा, सोलुखुम्बु र सगरमाथालाई नाङगो आखाँले देख्न र क्यामेरामा फोटो कैद गर्दै ड्राई पिकनिक खान सकिन्छ । खानेपानिको असुविधा रहेकाले टोड्केडाडाँमा चाँडै पम्पिङ गरेर खानेपानि लाने तयारी भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!