खोटाङमा आगोमा जलेका पाँच महिने शिशुलाई दुई लाख ८५ हजार सहयोग

Posted on: 05 Aug, 2019

चिसाङ शेर्पा  | साउन १९,  खोटाङ | अगेनामा परेर दुवै हात र निधार जलेर शक्त घाईते भएका केपिलासगढी गाउँपालिका–४ बाक्सिला लंखाका पाँच महिने शिशु प्रविन राईलाई आर्थिक सहयोग गरिएको छ । युकेवासी ईशा गुरुङको अभियानमा संकलन भएको दुई लाख ८५ हजार रकम सहयोग गरिएको हो ।

१० साउनमा घरैमा दाजुको साथमा छोडेर आमाबुबा खेतबारीमा काम गर्न जाँदा अगेनामा परेर प्रबिनको दायाँ हातको ग्याङटीन र बायाँ हातको कन्ट्रयाक्चरमा गम्भीर असर पुगेर बिजोग भएको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि अभियान्ता गुरुङले संञ्चालन गरेकोे चार दिने अभियानमा ४६ जनाबाट संकलित रकम आईतबार प्रविनको आमा निर्मला राईलाई हिसाब देखाएर ‘प्रविन राई राहत तथा उद्धार कोष’मा जम्मा गरिएको अभियानका सहयोगी माओदिप थुलुङ राईले जानकारी दिए । 

प्रविनको हाल कान्ती बाल अस्पताल काठमाण्डौमा निःशुल्क उपचार भईरहेको छ । आगोले अत्याधिक जलेका कारण प्रविनले दुवै हातको औला भने गुमाईसकेका छन्् । प्रविनका लागि किरात राई यायोक्खा खोटाङका उपाध्यक्ष सञ्जयकुमार राई, सह–सचिव सिता थुलुङ राई लगायतले सहयोग संकलन अभियान सञ्चालन गरिरहेका छन् । 

घाईते बच्चाको निःशुल्क उपचारको व्यवस्था भएकाले संकलन भएको रकमले अक्षयकोष स्थापना गर्ने र सो को व्याजबाट आउने रकमले उनको शिक्षादिक्षाको प्रवन्ध मिलाइने यायोक्खाका उपाध्यक्ष राईले बताए । शनिबार केपिलासगढी गाउँपालिकाका अग्रज १२ जना युवाहरुले ५८ हजार १ सय रुपैयाँ सहयोग गरेको सहयोग गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!