दिरुम नगरपालिकाको बजेट रु ८३ करोड ८७ लाख

Posted on: 25 Jun, 2019

असार १०, खोटाङ (रासस) | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि रु ८३ करोड ८७ लाख १६ हजार बराबरको अनुमानित वार्षिक बजेट तथा कार्यक्रम पारित गरेको छ ।

दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आज आयोजित तेस्रो नगरसभामा नगरपालिकाकी उपप्रमुख विणादेवी राईले प्रस्तुत गर्नुभएको बजेट तथा कार्यक्रम नगरसभाले पारित गरेको हो । 

बजेटको स्रोतबारे जानकारी दिँदै उपप्रमुख राईले सङ्घीय सशर्त कार्यक्रमतर्फ रु ३२ करोड ५६ लाख, प्रादेशिक सशर्त कार्यक्रमतर्फ रु दुई करोड २५ लाख, चालू खर्चतर्फ रु १२ करोड ५६ लाख ७७ हजार ३९ र वडागत चालूतर्फ रु ९६ लाख ३६ हजार, कार्यालयका लागि पूँजीगत खर्च रु ६५ लाख, विशेष कोषतर्फ रु ४५ लाख, सङ्घीय तथा प्रदेश सरकारको सहलगानीमा सञ्चालन हुने आयोजनाका लागि समपुरक कोषतर्फ रु दुई करोड ५० लाख र सङ्घ र प्रदेशबाट प्राप्त निर्माणाधीन योजनाका लागि भुक्तानी दिन बाँकी रु एक करोड ८२ लाख ३२ हजार १६ विनियोजन गरेको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । 

विषयगततर्फ पूर्वाधार विकास क्षेत्रमा विभिन्न आयोजनाको डिपिआर निर्माणका लागि रु ५० लाख, क्रमगत आयोजनाका लागि रु चार करोड, यलम्बर पार्कका लागि रु दुई करोड ६५ लाख, वडास्तरीय पूर्वाधार विकासतर्फ रु दुई करोड ९८ लाख ८७ हजार विनियोजन भएको छ ।

सामाजिक विकासतर्फ सामाजिक सुरक्षाभत्ता रु १६ करोड, उपप्रमुखसँग महिला कार्यक्रमका लागि रु ५० लाख, शैक्षिक सुधारका लागि रु २३ करोड ८६ लाख ५३ हजार, स्वास्थ्य क्षेत्रको लागि रु चार करोड ८९ लाख २१ हजार, वडास्तरीय सामाजिक विकासतर्फ रु एक करोड ४५ लाख ७२ हजार ७०४ विनियोजन भएको छ । 

आर्थिक विकास क्षेत्रका लागि रु दुई करोड ९९ लाख ४५ हजार, वन वातावरण तथा सरसफाइतर्फ रु ३३ लाख १९ हजार ११४ र संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनका लागि रु २० लाख ८९ हजार ८४८ विनियोजना गरिएको छ । 

दिगो र गुणस्तरीय पूर्वाधार विकास, उच्च, दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्ने, विभिन्न वर्ग, लिङ्ग, सम्प्रदाय, क्षेत्र र जातजातिको समावेशी र समन्यायिक विकास गर्ने, नगरपालिकाद्वारा प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने, समृद्ध, समुन्नत र अर्गानिक नगरपालिकाको रुपमा विकास गर्दै लैजाने लक्ष्यकासाथ वार्षिक बजेट तथा कार्यक्रम ल्याइएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो ।

“विकासका पूर्वाधार विस्तार र पहुँच बस्तीस्तरसम्म पुर्याउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “संस्थागत विकास र सेवा प्रवाहका क्षेत्रमा क्षमता विकास गर्ने लक्ष्यका साथ हामीले बजेट तथा कार्यक्रम तयार पारेका हौँ ।” 

यस बिषयमा तपाइको प्रतिक्रिया...!