राप्रपा खोटाङले धर्म निरपेक्षताको ब्यानर जलायो

Posted on: 19 Apr, 2019

चिसाङ शेर्पा | बैशाख ६, खोटाङ | राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति खोटाङले धर्म निरपेक्षताको ब्यानर जलाएको छ । नेपाल सरकार समक्ष हिन्दु राष्ट्र पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षिय गोलमेच सम्मेलन गर्नुपर्ने लगायत २२ बुँदे माग राखी चरणबद्ध आन्दोलनमा होमिएको राप्रपाले देशब्यापी जनसंघर्षको धर्ना कार्यक्रम अनुसार दिक्तेलमा धर्म निरपेक्षताको ब्यानर जलाएका हुन् ।


राप्रपाका जिल्ला अध्यक्ष जीवन कुमार श्रेष्ठ र १ नम्बर प्रदेश समितिका सह–सचिव ललित कुमार राईको नेतृत्वमा आएको टोलीले जिल्ला प्रशासन कार्यालय हुंदै मालपोत कार्यालय परिक्रमा गरेर शुक्रबार जिल्ला समन्वय समितिको कार्यालय अगाडी धर्म निरपेक्षताको ब्यानर जलाएको राप्रपा खोटाङले जनाएको छ । धर्म निरपेक्षताको ब्यानर जलाउने प्रयास गरेता पनि प्रहरीले खोसेर जलाउन दिएनन् । सरकार समक्ष प्रस्तुत गरिएका २२ बुँदे माग अविलम्ब पुरा गर्न समेत राप्रपाले माग गरेका छन् ।

गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई जनसंघर्ष कार्यक्रम घोषणा गरेको राप्रपाले आफ्ना २२ बुँदे मागबारे आम जनतालाई जानकारी दिन, मागका पक्षमा जनमत सिर्जना गर्न भन्दै फागुन मै १५ दिने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दु राष्ट्र पुनःस्थापना हस्ताक्षर संकलन अभियान कार्यक्रम सम्पन्न गरिसकेको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!