सरकारको काम कारबाहीप्रती तरुण दलको असन्तुष्टी

Posted on: 03 Dec, 2018

चिसाङ शेर्पा | मंसिर १७, खोटाङ | वर्तमान सरकारको काम कारवाहिप्रती असन्तुष्टी जनाउँदै तरुण दल खोटाङले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली जनताको लोकतन्त्र र मुल्यामान्यता अनुसार बाँच्न र स्वतन्त्र पेशा÷व्यवसाय गर्न पाउने संवैधानिक अधिकारको खिल्ली उडाउदै घोर अर्कमण्यता र जनतामारा राष्ट्रघाती कार्यहरु तत्काल बन्दगरी न्यायसंगत ढंगबाट जनताका जीवनयापन र कानूनी राज्यको अवधारणासँग गाँसिएका विषयहरुको न्यायिक समाधान खोज्न ज्ञापनपत्र माफर्त सरकारको ध्यानाकर्षण गराएका हुन् ।


सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाईएको विज्ञप्तीमा कञ्चनपुरका निर्मला पन्तको हत्या भएको चार महिना गुज्रदा पनि बलात्कारी र हत्याराको पहिचान नभएको, दैनिक उपभोगय वस्तु र निर्माण सामग्रीको मुल्यबृद्धि फिर्ता नलिएको, सरकारकै संरक्षणमा देशमा भइरहेको भ्रष्टाचारको अन्त्य नभएको, वाईडवडी खरीद प्रकरणमा भएको भ्रष्टाचारको विषयलाई छानविन गरी तत्काल भ्रष्टाचारीलाई कारवाही हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

यस्तै, वर्तमान राष्ट्रपतिद्धारा नेपाली जनताको चाहानालाई बाधा पुग्नेगरी १८ करोड गाडी खरिद गर्ने कार्यप्रती आपत्ती जनाउँदै राष्ट्रहित विपरितको कार्य नगर्न तरुण दल जिल्ला अध्यक्ष भिषण राईले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्ती बुझ्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले तरुण दलको ज्ञापनपत्र सम्बन्धित स्थानमा पुर्याईदिने प्रतिबद्धता जनाएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!