गाउँमा विद्युत् पुगेपछि वाप्लुखाका उपभोक्ताले मनाए खुशीयाली

Posted on: 22 Sep, 2020

असोज ६, खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा गाउँपालिकाले विनियोजन गरेको रु ७५ लाख र नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको रु एक करोड बराबरको विद्युतीय सामग्रीबाट वाप्लुखामा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको हो । 

देशमा सङ्घीयता लागू भएर स्थानीय तह कार्यान्वयनमा आएसँगै केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको कामलाई तीव्रता दिएको गाउँपालिकाले वाप्लुखाको सुम्लेखा र काम्दाखाका ८० घर स्थानीय बासिन्दाको घरमा विद्युत् विस्तार गरेको छ । चार सय २५ घरधुरी भएको वाप्लुखाका अन्य टोलमा पनि विद्युतीकरणको कामलाई तीव्रता दिइएको वडाध्यक्ष दिपेन थुलुङले बताउनुभयो ।

आफ्नो गाउँमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएपछि वाप्लुखाका स्थानीय बासिन्दाले सांस्कृतिक झाँकीसहित खुशीयाली मनाएका छन् । लामो समयसम्म अन्धकारमा बस्दै आएका उनीहरुले आइतबार औपचारिक कार्यक्रमको आयोजना गरेर भोजभतेरसहित खुशीयाली मनाएका हुन् । 

वाप्लुखामा विस्तार गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत् परीक्षण सफल भएपछि गाउँपालिका प्रमुख प्रदीपकुमार राई र उपप्रमुख कविता राईले रिवन काटेर औपचारिक उद्घाटन गर्नुभएको थियो । किराँत राई समुदायको सांस्कृतिक झाँकी साकेला सिलीसहित आयोजना गरिएको कार्यक्रममा गाउँपालिका प्रमुख र उपप्रमुखले समेत स्थानीय उपभोक्तासँगै खुशीयाली मनाएका छन् । 

गाउँपालिकाले हाल केन्द्रीय प्रसारण लाइनको विद्युत्को पहुँच पुग्न बाँकी तीन वडामा विद्युतीकरणको कामलाई तीव्रता दिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । नौ वडा रहेको उक्त गाउँपालिकाको वडा नं १ लिकुवापोखरीलाई मात्र विद्युत्ले छुन बाँकी रहेको गाउँपालिकाले जनाएको छ । छमेकी जिल्ला भोजपुरसँग सिमाना जोडिएको लिकुवापोखरीको सिमासम्म मेनलाइन विद्युत् विस्तार भइसकेको जनाइएको छ । वडा नं ३ सावाकटहरेमा पनि मेनलाइनमा विद्युत् बलिसकेको गाउँपालिकाले जनाएको छ । 

आगामी आर्थिक वर्ष सबै वडामा विद्युत् विस्तारको कामलाई पूरा गर्नेगरी चालू आर्थिक वर्ष रु एक करोड बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । “हामी निर्वाचित भएको बेला खोटाङबजार, सिम्पानी, लिच्कीराम्चे र चिप्रिङमा विद्युत्को मेनलाइन मात्र विस्तार भएको अवस्था थियो”, उहाँले भन्नुभयो, “अहिले ४ देखि ९ वडाका ९५ प्रतिशत घरमा विद्युत् पुगिसकेको छ । बाँकी रहेको लिकुवापोखरी, वाप्लुखा र सावाकटहरेमा विद्युतीकरणको कामलाई तीव्रता दिएका छौँ ।”

जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उक्त गाउँपालिकामा हालसम्म वडा नं ४ बड्कादियाले, वडा नं ५ चिप्रिङ, वडा नं ६ इन्द्रेणीपोखरी, वडा नं ७ खोटाङबजार, वडा नं ८ सिम्पानी र वडा नं ९ लिच्कीराम्चेमा ९५ प्रतिशत उपभोक्ताको घरमा विद्युत् पुगिसकेको छ । दश स्थानीय तह रहेको जिल्लामा हाल १६ हजार १९४ घर विद्युत् उपभोक्ता रहेका छन् ।

बुइपा सबस्टेशनमार्फत वितरण गरिने केन्द्रीय प्रसारण लाइनको विद्युत् खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु गरी तीन जिल्लामा खपत हुने गरेको छ । ठेकेदार कम्पनीले ११ केभी प्रसारण लाइनको विद्युत्पोल तथा तारमा ३३ केभी क्षमता थपेपछि दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको विद्युत् पटकपटक अवरुद्ध हुँदै आएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!