खोटाङको बोझेखोला–सुनकोशी ग्रामीण सडक सञ्चालनमा

Posted on: 03 Aug, 2020

साउन १९, खोटाङ। हलेसी तुवाचुङ नगरपालिकास्थित बोझेखोला–सुनकोशी ग्रामीण सडक सञ्चालनमा आएको छ । वडा नम्बर–३ च्यास्मिटारको बोझेखोलादेखि वडा नम्बर–५ दुर्छिमको छोकमाला हुँदै सुनकोशी किनार जोड्ने नगरपालिकास्तरीय १२ किलोमिटर सडक सञ्चालनमा आएको हो ।

नगरपालिकाकै विकट क्षेत्रका रुपमा रहेको हैदे र दाम्दलेलाई सडक सञ्जालमा जोड्ने लक्ष्यका साथ नगरपालिकाले बोझेखोला–छोकमाला–दाम्दले–हैदे–सुनकोशी झोलुङ्गे पुल सडकलाई प्राथमिकतामा राखेको थियो । नगरपालिकास्तरीय सडकका रुपमा दुई वर्षअघि नगरपालिकाले विनियोजन गरेको रु १५ लाख रकमबाट निर्माण गरिएको सडकका लागि गत वर्ष प्रदेश सरकारबाट रु दश लाख बजेट विनियोजन भएको थियो । 

नगरपालिका र प्रदेश सरकारको बजेट अपुग हुँदा बाँकी रहेको करिब तीन किलोमिटर सडकखण्डलाई पूरा गरेर सञ्चालनमा ल्याइएको नगरप्रमुख इवन राईले जानकारी दिनुभयो । बाँकी रहेको सडकखण्ड यसपल्ट नगरपालिकाकै तर्फबाट तेल हालेर नगरपालिकाकै मेशिन प्रयोग गरेर पूरा गरिएको हो । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको बाँसबोटे जोड्ने सुनकोशी पुलसम्म पुर्याइएको सडकलाई क्रमशः दुर्छिमकै बतासेघाट जोड्ने गरी विस्तार गरिने नगरपालिकाले जनाएको छ । बोझे खोला–सुनकोशी झोलुङ्गे पुल सडक निर्माणका क्रममा छोकमालाबाट विकट बस्तीका रुपमा रहेको लाहाटुङसम्म सडक पुर्याइएको हो । 

सडक सञ्चालनमा आएपछि आवतजावत, दैनिक उपभोग्य वस्तु ढुवानी, तथा सुनकोशीको ढुङ्गा, गिट्टी र बालुवा निकासीमा सहज भएको स्थानीय बासिन्दाले बताएका छन् । सडक अभावमा घण्टौँ पैदलयात्रा गर्दै आएका स्थानीय बासिन्दा आफ्नो घर आँगनमै यातायातको साधन आइपुगेपछि हर्षित भएका छन् । 

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकाको सबै वडामा कच्ची सडक पुगेको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने उक्त नगरपालिकामा निर्माण गरिएको सडकमा बाह्रै महिना गाडी सञ्चालन हुने गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!