अफगान सरकार शान्तिप्रति प्रतिबद्ध देखिएनः तालिबान

Posted on: 28 Sep, 2020

असोज १२, काबुल (रासस/एएनआई)। अफगानिस्तानमा युद्धरत प्रमुख विद्रोही समूह तालिबानले संयुक्तराज्य अमेरिका र तालिबानबीच भएको सम्झौताका शर्तहरुलाई स्वीकार्न अफगान सरकारले नचाहेको आरोप लगाएको छ । 

अन्तर–अफगान शान्तिवार्तामा तालिबानका तर्फबाट सहभागी वार्ताटोलीका सदस्य खैरुल्लाह खैरख्वाले आफूहरु संयुक्तराज्य अमेरिकासँग भएको सम्झौता बमोजिम अफगान सरकारसँग वार्तामा बसेको स्पष्ट गर्दै तर अफगान सरकार वार्ताप्रति गम्भीर नदेखिएको बताउनुभयो । 

उहाँले गत फेब्रुअरी २९ मा तालिबान र संयुक्तराज्य अमेरिकाबीच भएको सम्झौतालाई मान्यता दिन अफगान सरकारले हिच्किचाइरहेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “विवादको चुरो भनेकै अफगान सरकारले तालिबान–अमेरिकाबीचको सहमतिलाई बेवास्ता गर्न खोज्नु हो ।”

तालिबान–अमेरिकाबीचको सम्झौताले अन्तर–अफगान वार्ताका लागि ढोका खोलेको थियो । सम्झौता बमोजिम एकअर्काका कब्जामा र जेलमा रहेका युद्धबन्दीहरु मुक्त गरिएका थिए । केही महिनाको ढिलाइका बाबजूद अफगान सरकार र तालिबानबीच शान्तिवार्ता गत सेप्टेम्बर १२ देखि कतारको राजधानी दोहामा जारी छ । तर दुबै पक्षबीच वार्ता शुरु भएपनि अफगानिस्तानमा हिंसात्मक घटना जारी रहेका छन् । 

यसैबीच, अफगान शान्तिवार्ताबारे पाकिस्तानी उच्च पदाधिकारीसँग छलफल गर्न अफगानिस्तानको राष्ट्रिय मेलमिलाप परिषदका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाह सोमबार पाकिस्तानको तीन दिने भ्रमणका लागि प्रस्थान गर्नु भएको छ । पाकिस्तानी विदेश मन्त्रालयका अनुसार अब्दुल्लाहका साथ उच्चस्तरीय अफगान प्रतिनिधिमण्डल रहनेछ । अब्दुल्लाहले पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्नु हुनेछ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!