कोरोना संक्रमणबाट विदेशमा थप २१ जना नेपालीको मृत्यु

Posted on: 27 Sep, 2020

असोज ११, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप २१ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना गरि शनिवार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिवार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएका हुन् । ती मध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो ।

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै नेपालमा मात्र ७१ हजार ८ सय २१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये ५३ हजार १३ जना कोरोना मुक्त भएका छन । यो कुल संक्रमितको ७१ प्रतिशत हो । हालसम्म नेपालमा ४ सय ६७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

कोरोना भाइरसकै कारण नेपाल सहित विश्वभर छरिएका नेपाली मध्य ७ सय ३२ जनाको निधन भएको छ । यस्तै विश्वभर १ लाख १० हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ८८ हजार ९१ जनाको कोरोना भाइरसबाट मुक्त भएका छन् ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका राष्ट्रिय शाखा, विदेशका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक संघसंस्था लगायतबाट प्राप्त सूचनाको आधारमा विगत २४ साता देखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्दै आएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!