कोभिड–१९ को विरुद्ध सामूहिक प्रयासको खाँचो : मुख्यमन्त्री पौडेल

Posted on: 31 Mar, 2020

 चैत १८, हेटौडा । (रासस) वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस  ९कोभिड – १९ ० को सम्भावित जोखिम हुन नदिन सामूहिक प्रयासको खाँचो औल्याउनुभएको छ । उहाँले भन्नुभयो “प्रदेश सरकारले कारोना विरुद्धको अभियान जारी राखेको छ । यसमा सर्वसाधारण, उद्योगी, व्यापारी, बैंक तथा वित्तीय संस्थाको थप साथ र सहयोग  आवश्यक छ । ” 

आज मुख्यमन्त्री निवासमा प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्राप्त सहयोग रकम ग्रहण गर्दै मुख्यमन्त्री पौडेलले आर्थिक सहयोग गर्ने  सबै सङ्घसंस्थाहरुलाई धन्यवाद दिनभयो  । 

यसैबीच उपचार कोषमा सोमबार र आज गरी रु २० लाख रकम सङ्कलन भएको छ । कोषमा हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको गोर्खा लाहरी प्रालिले रु १० लाख र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले रु सात लाख रकम सहयोग गरेको जनाइएको छ । सो कोषमा हेटौँडा खानेपानी बोर्डले रु तीन लाख सहयोग गरेको छ । बोर्डका अध्यक्ष प्रताप विष्ट र कार्यालय प्रमुख सुदर्शन ढकालले मुख्यमन्त्री  पौडेललाई रु तीन लाख १९ हजारको चेक आज हस्तान्तरण गर्नुभएको हो ।  गोर्खा लाहरी प्रालिले जिल्ला समन्वय समितिको कोषलाई समेत रु एक लाख हस्तान्तरण गरेको छ । 

वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले लकडाउनका समयमा प्रदेशमा अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरणमा कुनै समस्या नआउने गरी व्यवस्था गरेको जनाएको छ । प्रदेशमा चामल ११ हजार दुई सय ९०, दाल दुई हजार ६ सय, चिनी तीन हजार नौ सय २३ र नून ३२ हजार मेटिक टन मौज्दात रहेको तथा खाना पकाउने एलपी ग्यास ८४ हजार सिलिण्डर मौज्दात रहेको तथा बिक्री वितरण र आपूर्ति सहज रहेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले जानकारी दिनुभयो । 

आपूर्ति व्यवस्थापनका लागि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा सहायता कक्ष ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याई सेवा प्रवाह गरिरहेको जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!