‘अघोरी बाबा’की पत्नीमाथि ठगीको आरोप

Posted on: 11 Nov, 2019

कात्तिक २५, काठमाडौँ | आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ठगीको आरोप लागेको छ । चितवनकी एक महिलाबाट विदेश लगिदिन्छु भनी ठगी गरेको आरोपमा कारवाहीको माग गर्दै ठाडो निवेदन परेकाले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

उनलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ । उनको विषयमा पूर्ण जाहेरी नपरेकाले जाहेरी परेपछि त्यसैको आधारमा अनुसन्धान अघि बढ्ने बौद्ध प्रहरीले जनाएको छ । पाण्डेले पछिल्लो समयमा ‘अघोरी बाबा’सँग बिहे गरेको भन्दै यूट्यूबमा अन्तरवार्ता दिँदै आएकी थिइन् । उनीहरुको बिहे भएको भनेर लिइएको अन्तरवार्ताको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  

गाडी र घरका सिसा तोडफोडमा संलग्न पक्राउ 

पार्किङ गरी राखिएको सवारी साधन तथा घरको सिसा तोडफोड गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–११ प्रगति चोक बस्ने रामेछाप रामपुर नगरपालिका–५ घर भएका २० वर्षीय प्रकाश तामाङ र सोही ठाउँ बस्ने सुनसरी धरान उपमहानगरपालिका–११ का २० वर्षीय निमा शेर्पा रहेका छन् । 

काठमाडौँ महानगरपालिका–६ सरस्वती नगरदेखि बूढानीलकण्ठ नगरपालिका–११ कपन पयौंँटारसम्म पार्किङ गरी राखेका सवारी साधन र सोही क्षेत्रमा रहेको घरका सिसा तोडफोड गर्दै गरेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिनुभयो । उनीहरुलाई आजै अहिले महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको महानगरीय प्रहरी प्रभाग कपनले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!