काठमाडौं उपत्यकामा ‘नो हर्न’ कार्यान्वयन फितलो

Posted on: 22 Apr, 2019

शर्मिला पाठक, बैशाख ९, काठमाडौँ– काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण बढेको भन्दै सवारी साधनलाई हर्न बजाउन निषेध गरेपनि त्यसको कार्यन्वयन फितलो देखिएको छ ।  काठमाडौँ महानगरपालिकाले २०७४ वैशाख १ गतेबाट काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणको अभ्यास शुरु गरेको हो ।

दुई वर्ष बितिसक्दासम्म सडकको मुख्य स्थानमा प्रशस्तै मात्रामा सवारी साधनहरुले ध्वनि प्रदूषण गरिरहेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको अग्रसरतामा कामपा र यातायात व्यवस्था विभागको सहकार्यमा उक्त नियम लागू भएको हो । तर, कार्यक्रम शुरु भएको दुई वर्ष बितिसक्दासम्म उपत्यकामा सवारी साधनका ध्वनिहरु प्रशस्तै सुनिन्छन् ।

यो अवधिमा नियम कार्यान्वयनको प्रभाव भने आंशिक मात्र देखिन्छ ।  कार्यान्वयन पक्ष त्यति प्रभावकारी देखिएको छैन । कार्यक्रम लागू गर्न कामपाले एक हप्तादेखि सडकको चोक चोकमा ‘नो हर्न ’कार्यक्रमबारे ब्यानरहरु टाँसी जानकारी पनि दिएको थियो । कार्यक्रम शुरु भएको केही समय कार्यान्वयन पक्ष सन्तोषजनक रहेपनि अहिले त्यो अवस्था देखिँदैन ।

सवारी चालकहरुले उक्त नियमलाई कार्यान्वयन गर्नतर्फ भन्दा पनि पुरानै शैलीमा सवारी हाँकिरहेका देखिन्छ । दैनिकरूपमा बढी रहेको सवारी साधन र कार्यान्वयनको अवस्था फितलो हुँदा उपत्यकावासी ध्वनि प्रदूषणको मारमा परेको प्रष्ट न्छ । हाल काठमाडौँ उपत्यकामा १२ लाख सवारी साधनहरु गुड्ने गरेका छन् ।

उता कामपाले भने ‘नो हर्न’ कार्यक्रम प्रभावकारी भएको दावी गरेपनि त्यस किसिमको अवस्था रहेको पाइँदैन । कापमाका प्रवक्ता ईश्वरमान डङ्गोल केही स्थान र नयाँ चालकले उक्त नियमको उल्लङ्घन गरेपनि नियमितरूपमा उपत्यकामा सवारी चलाउने चालकहरुले उक्त नियमको पूर्णरूपमा कार्यान्यवन गरेको दावी गर्छन् ।

उपत्यकामा वातावरणलाई स्वस्थ राख्न र ट्राफिक जामको समस्या कम गर्नका लागि सरकारको अग्रसरतामा केही ठूला बस ल्याउने तयारी पनि गरिएको छ । कामपाले पनि साझा सहकारीको सहकार्यमा केही साझा बस ल्याएको छ भने केही बस थप गर्ने तयारीमा छ । त्यसैगरी अन्य निजी कम्पनीले पनि ठूला बस ल्याउने क्रम जारी रहेपनि सार्वजनिक यातायात साधनको अभाव कम भएको छैन ।  

तत्कालीन महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामा, कामपाका तत्कालीन प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेल र यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूपनारायण भट्टराईले यस कार्यक्रमको शुरुआत गरेका थिए । 

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख जयराज सापकोटाका अनुसार उपत्यकाको मुख्यमुख्य सडक चोकमा सवारी साधनमार्फत ध्वनि प्रदूषण गर्ने हालसम्म २५ हजार चालकलाई कारवाही गरिसकेको बताउँछन् । 

कारवाहीमा पर्नेमा बढी मात्रामा उपत्यकाभन्दा पनि बाहिरी जिल्लाबाट भर्खर आएका चालक पर्ने गरेको प्रहरी महाशाखाले जानकारी गराएको छ । बाहिरी जिल्लाबाट आएका नयाँ चालक धेरै पर्छन् । नियम नै थाहा नभएकाले कतिपय अवस्थामा सचेत गराएर पठाउने गरिएको छ । 

विशेषगरी कोटेश्वर, नयाँ बानेश्वर, थापाथली, कलङ्की, चक्रपथ, चावहिल महाराजगञ्जलगायत चक्रपथका मुख्य चोकमा सवारी साधनले उक्त नियम उल्लङ्घन गर्ने पाइएको ट्राफिक महाशाखाले जनाएको छ । 

अस्पताल, विद्यालय र मानिसको बाक्लो उपस्थिति रहने स्थानमा हर्न बजाउँदा त्यसको नकारात्मक असर धेरै हुने गरेको छ । यसले कानको जाली र भित्री जालीमा असर गर्छ । कानको भित्री कोषसम्म असर पार्छ र श्रवणशक्तिमा ह्रास गराउँछ । सधैँ चर्को हर्न बज्ने स्थानमा बस्ने मानिसको मुटु सामान्य स्थानमा बस्ने मानिसको तुलनामा कमजोर हुन्छ । चर्को हर्नले मानव मस्तिष्कमा विभिन्न किसिमका नकारात्मक रसायनहरु उत्पादन गराउँछ  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!