मुलुक समृद्ध हुन देशको भाषा, संस्कृति बलियो हुनुपर्छ: उपराष्ट्रपति पुन

Posted on: 09 Apr, 2019

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई समृद्धशाली बनाउन भाषा, संस्कृति र संस्कारको संरक्षण प्रवर्द्धन गरिनुपर्ने बताएका छन् । गोकर्णेश्वर माकलबारीमा आयोजित ‘दोस्रो क्रान्ति दिवस नेपाल साहित्य महोत्सव २०७५’ को आइतबार कार्यक्रम उद्घाटन गर्दै उनले भाषा संस्कृति बलियो भए मात्र देश बलियो र समृद्ध हुने उल्लेख गरे ।

‘कुनै पनि मुलुक समृद्ध हुन त्यस देशको भाषा, संस्कृति बलियो हुनुपर्छ, पछिल्लो समय भाषा सङ्कटमा पर्दै गएको छ । भाषा लोप हुँदै गए हामी पनि कमजोर हुन्छौँ, त्यसैले अब ढिलो नगरिकन आफ्नो भाषा र संस्कारलाई संरक्षण गर्दै नयाँ पुस्तालाई यसमा आकर्षण गर्न जरुरी छ’, उपराष्ट्रपति पुनले भने ।


उनले मुलुकमा सबैखाले क्रान्ति तथा संघर्षमा साहित्यकार तथा कलाकारको विशिष्ठ योगदान रहेको भन्दै कला र साहित्यका माध्यमबाट मुलुकले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई सार्थक बनाउन स्रष्टा तथा सर्जकलाई आग्रह गरे ।

उपराष्ट्रपति पुनले जनताको जीवनमा परिवर्तन हुने गरी देशलाई समृद्ध बनाउन उत्पादन वृद्धिमा आधुनिक प्रविधिको भरपुर उपयोग गरिनुपर्नेमा जोड दिए । पूर्वमन्त्री शेरबहादुर तामाङले मुलुकको समृद्धिको अभियानमा ससाना कामबाटै सबै स्थानबाट सकारात्मक र प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए ।


प्रतिनिधि सभा सदस्य कृष्ण राइले जनताको जीवनमा परिवर्तन हुने गरी देशलाई समृद्ध बनाउन उत्पादन वृद्धिमा आधुनिक प्रविधिको भरपुर उपयोग गरिनुपर्नेमा जोड दिए ।

प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले मुलुक परिवर्तनका लागि भएका विभिन्न संघर्षमा कला र साहित्यिक क्षेत्रको पनि महत्वपूर्ण योगदान रहेको भन्दै अबको समृद्धिको यात्रामा पनि प्रागीक क्षेत्रबाट थप प्रभावकारी योगदान हुन जरुरी छ भने ।

प्रदेश नं ३ का प्रदेश सांसद रामेश्वर फुयाँलले समृद्ध नेपाल निर्माणका लागि भौतिक निर्माणसँगै भाषा, कला र साहित्यको संरक्षणमा विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले समृद्ध नगरका लागि निर्माण अभियान शुरु गरिएको जानकारी गराउँदै भाषा र संस्कृतिको संरक्षणलाई पनि प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

जया मल्टिपल कलेजका प्रिन्सिपल भवानीप्रसाद पौडेलले शिक्षा, कला र संस्कृतिको माध्यमबाट आर्थिक समृद्धिको अभियानमा योगदान गरिनुपर्ने बताए ।

कार्यक्रममा ७ जना बरिष्ठ कबिहरु र ९ जना विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएको बरिष्ठ व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम साहित्यकार देबी प्रसाद घिमिरेले संचालन गर्नुभएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!