आकाशबाट बाकसमा नआए...

Posted on: 14 Sep, 2020

‘आकाशबाट बाकसमा नआए

ढोका खोल भन्नेछु म आए’ (पुरुष)

‘घरै धराप छ पहिरो खसेर

बाली खायो सलह पसेर’ (महिला)

यी शब्द लोकगायक विष्णु खत्रीको दशैँ गीत ‘रिनै रिनको’का हुन् । गीतमा प्रवासी नेपाली र तिनका आश्रित परिवारको दुःख, पीडा अभिव्यक्त छ । श्रीमान्ले दशैँमा घर आउने दिनको ठेगान छैन भन्छन् । श्रीमतीलाई जीवनसाथी नभएको गाउँघर शून्य लाग्छ । 

श्रीमान् भन्छन्– के दशैँ मान्छ्यौ र रिनै रिनको

  मेरो केही भर छैन आउने दिनको...

श्रीमती भन्छिन्– के दशैँ मानौ र रिनै रिनको

   शून्य छ गामवेशी तिमी बिनाको...

कोरोना महामारीका कारण कमाइ गुमेको छ । दशैँ खर्च पठाउन सक्ने स्थिति छैन । यता श्रीमतीलाई बालबच्चा र घर धान्न गाह्रो छ । परदेशी कहिले आउँछन् भनेर बाटो कुर्न विवश छिन् ।

भन्छिन्– चर्न गाको गाई गोठमा फर्कन्छ

  साँझपख झनै मन चर्कन्छ...

श्रीमान् आफैसँग गुनासो गर्छन्– 

बाउ त बने बाउ जस्तो भैन म

हेर्नै छाडेँ आफ्नो मुख ऐनामा...

चाडबाडमा पनि परिवारको मन दुःखाएकामा उनी पछुतो मान्छन् । परदेशी हुनुको विवशता स्वीकार्छन् । गीतको सवालजवाफ अघि बढ्छ । आखिरीमा श्रीमती पुकारा गर्छिन्–

मर्न पाए तिम्रो मुख हेरी

छोड्थ्यो कि त सुसाउन सल्लेरी

रिनै रिनको...

गीत टुङ्गिन्छ । गत आइतबार खत्रीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीतको म्युजिक भिडियोले युट्युबमा हालसम्म तीन लाखभन्दा बढी भ्युज बटुलेको छ । गीतमा खत्री र गायिका पूर्णकला बिसीको स्वर छ । रचना र सङ्गीत पनि गायक खत्रीकै छ ।

सुमधुर क्रियशनद्वारा उत्पादित गीतको म्युजिक भिडियोमा कलाकार ओवी रायमाझी र सारिका केसीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन कपिल लामाले गर्नुभएको छ । मन छुने शब्द, स्वर, मौलिक भाका र ग्रामीण परिवेश झल्काउने भिडियोका कारण गीतलाई स्रोता÷दर्शकले रुचाएका छन् ।

लोकगायक खत्रीका यसअघि ‘सुनको जलप’, ‘दशैँ तिहार सँगै मनाउँला’, ‘दशैँमा आउ प्यारा’, ‘कति रुनी हो’ लगायत दर्जनभन्दा बढी दशैँ गीत सार्वजनिक भएका छन् । बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका उहाँ दुई दशकदेखि लोकसङ्गीतमा सक्रिय हुनुहुन्छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!