वर्षा राउतले सामाजिक सञ्‍जालमा गाली खाएपछि गल्ती स्वीकार्दै भनिन्, 'बोल्दै जाँदा जिब्रो चिप्लियो'

Posted on: 24 May, 2020

जेठ ११, काठमाण्डौ । नायिका वर्षा राउतले आफू राष्ट्र र राष्ट्रियताप्रति प्रतिवद्ध रहेको बताएकी छन् । नायिका राउतले सीमा विवादका कारण आफ्ना भारतीय साथीहरुलाई फेस देखाउनै गाह्रो परेको बताएको भिडियो सार्वजनिक भएपछि चर्को गाली खाएकी थिइन् । 

उनले सामाजिक सञ्‍जालबाट गरिएका भद्दा गालीले आफूलाई भावनात्मक ठेस पुगेको पनि गुनासो गरेकी छन् ।  'हो, म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन', उनले भनेकी छन्, 'अलिकति पनि माथि-तल परेकी छैन । 

संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिको माया हुँदैन होला र? आफ्नो परिचयलाई नै अङ्गिकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ।’ बर्षा राउतले भारतीय साथीको चिन्ता गर्दा गालीको वर्षा उनले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर नक्सा जारी गरेर नेपाल सरकारले कर्तव्यनिष्ठता देखाएको पनि बताइन्। 

राउतले आफू त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार रहेको पनि दाबी गरेकी छन्।  ‘यस्तो संवेदनशील समयमा भड्काउ तत्त्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन्', उनले भनेकी छन्, 'जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दबाट देखिन थालेको छ। यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यति भन्‍न खोजेकी हुँ।’ राउतले आफूले सीमा विवादबारे गल्तीवश बोलेको स्वीकारेकी छन्। अबदेखि बोल्न बोल्दा विचार पुर्‍याउने पनि उनले बताएकी छन् । ‘मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला। जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान्', उनले भनेकी छन्, 'यस्तो परिस्थिति खडा हुन पुगेकोमा क्षमाप्रार्थी छु। अब आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्नेछु।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!