मलेसियामा कोरोना नियन्त्रण गर्न संकटकाल घोषणा, संसद् स्वतः निलम्बन

Posted on: 12 Jan, 2021

पुस २८, काठमाडौं । कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ । मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन् ।  

यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुकुलो पनि हुनसक्ने दरबार स्रोतले जनाएको छ ।

संकटकाल घोषणाको अर्थ कानूनत संसद् स्वतः निलम्बन हुनेछ । र, प्रधानमन्त्री यासिनले आफ्नै ढंगले सरकार सञ्चालन गर्ने सामथ्र्य राख्नेछन् । सोमबारसम्म यासिनले संकटकालको कुनै संकेतसम्म पनि गरेका थिएनन् । त्यसैले, राजनीतिक वृत्तमा यो निर्णयल ठूलो झट्का दिएको छ । 

‘यो कदमले जनताको व्यक्तिगत सुरक्षा र देशको चासोलाई पनि सम्बोधन गरेको छ । पछिल्लो कोभिड १९ तथ्याङ्कलाई समेत आधार मानेर यो निर्णय लिइएको हो,’ राजदरबारद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ । राजा र प्रधानमन्त्रीबीच सोमबार साँझ भेटघाट भएको पनि विज्ञप्तिमा जनाइएको छ । 

यासिनले यसअघि गत अक्टुुबरमा संकटकाल लगाउन सिफारिस गरेपनि तत्कालीन समय राजाले यस कदमलाई अस्विकार गरिदिएका थिए । त्यतिबेला संसद्मा आफ्नो नेतृत्वमाथि आइलागेको चुनौतीबाट भाग्नका लागि यासिनले स्वास्थ संकटको दुुरुपयोग गर्न खोजेको आरोप विपक्षीहरुले लगाएका थिए । 

यद्यपी, पछिल्लो समय मलेसियामा दैनिक २ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ । मलेसियामा कुल १ लाख ३८ हजारभन्दा धेरैमा कोरोना संक्रमण छ ।  मलेसियाका पछिल्लोपटक १९६९ मा संकटकाल घोषणा भएको थियो, जतिबेला साम्प्रदायिक दंगाका क्रममा देशको राजधानी शहरमा सयौंको ज्यान गएको थियो । लुटपाट समेत बढेको थियो । एजेन्सी

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!