अमेरिका पठाइदिने भन्दै ६० लाख ठगेको आरोपमा २ जना पक्राउ

Posted on: 17 Feb, 2020

फागुन ५, काठमाडौं। अमेरिका पठाउने भन्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–२ पयुँपाटा घर भई हाल ललितपुरको इमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेको देउराली गाउँपालिका चौउरे घर भई हाल ललितपुरको इमाडोल बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन् ।


नुवाकोटको शिवपुरी गाउँपालिका–३ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका–२ बस्ने ३७ वर्षीया कीसानुमाया लामालाई अमेरिका पठाइदिने भन्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार अमेरिका जानको लागि बैंक ब्यालेन्स देखाउनु पर्ने भन्दै कीसानुमायालाई रामचन्द्र कुँवरले प्राइम बैंकमा रहेको आफ्नो खातामा ६० लाख रुपैयाँ ब्यालेन्स गर्न लगाएका थिए ।

कीसानुमायाले ६० लाख रुपैयाँ खातामा राखिदिएको भोलिपल्टै कुँवरले नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमती पत्र राखी चावहील, नयाँबानेश्वर, कोटेश्वर, सामाखुसी र इमाडोलमा रहेको प्राइम बैंकको शाखाबाट रकम निकालेर सम्पर्कविहीन भएका थिए । पीडित भनिएकी कीसानुमायाले दिएको जाहेरीको आधारमा दुवै जनालाई भक्तपुरको थिमिबाट सोमबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा कुँवर र लामाले अन्य तीन जनाबाट ७० लाख रुपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!