मारिएन ओभरसिसका संचालकले कतार पठाएका कामदार अलपत्र, संचालकनै अवैध धन्दामा !

Posted on: 19 Aug, 2019

भदौ २, काठमाडौँ | काठमाडौँ स्थित सिनामंगलमा रहेको मारियन ओभरसिज मार्फत कतार पुगेका एक नेपाली अलपत्र परेका छन् । मारियन ओभरसिज म्यानपावर मार्फत कतार पुगेका विशन सिंह भण्डारीलाई म्यानपावर संचालक सरोज श्रेष्ठकै संलग्नतामा आजाद भिषामा पठाएको खुलेको हो ।  


पिडित भण्डारीले आफू म्यानपावर मार्फतनै कतार आएको बताउँदै गर्दा बैदेशिक रोजगार बिभागको रेकर्ड अनुसार उक्त म्यानपावरले उनलाई कतार पठाएको खुलेको छैन । पिडितले बताए अनुसार मारियन ओभरसिजका संचालक सरोज श्रेष्ठले पिडित भण्डारीसंग १ लाख ३० हजार अशुली गरि कतार पठाएका थिए । भण्डारीको सम्पूर्ण काम म्यानपावरकै संलग्नतामा भए पनि श्रम स्वीकृति अनुसार कुनै म्यानपावर नजोडीएकोले श्रम स्वीकृतिमा म्यानपावरको नाम हुनुपर्नेमा 'सेल्फ' उल्लेख छ । म्यानपावर संचालकले आफ्नो म्यानपावरलाई जोगाउन व्यक्तिगत श्रम स्वीकृतिको सेटिङ योजनामा भण्डारीलाई कतार पठाएको खुलेको छ । 

गत २२ जुनमा कतार पुगेका उनलाई दुई महिना बितीसक्दा पनि कुन कम्पनीमा आफू काम गर्ने भन्ने थाहा छैन । उनले आफू नेपाल फर्कन चाहेको भन्दै सहयोगको याचना गरेका छन् । आफूलाई पठाउने म्यानपावरसंग सहयोगको याचना गर्दा कुनै मतलब नगरेको बताउँदै उनले भने 'दुई महिनादेखि काम गरेको छैन, खानाको समस्या छ, भुइमा सुतेको छु । म्यानपावरले भोली-भोलि भन्दै झुलाईरहेको छ ।'

सम्बन्धित पिडितलाई उद्दारको पहलमा साझा सबाल मिडियाले बैदेशिक रोजगार बिभागलाई समेत यस बिषयको सूचना दिईसकेको छ । सम्बन्धित म्यानपावर संचालकसंग पिडितको उद्दार तथा पिडितको गुनाशोबारे जानकारी लिन खोज्दा कुनै प्रतिकृया पाउन सकिएन । 

के हो ‘आजाद भिसा’ ?

कतारी श्रम मन्त्रालयका अनुसार ‘आजाद भिसा’ भन्ने कुनै भिसा नै छैन । कतारमा कामदारका लागि दुई प्रकृतिको व्यक्तिगत (घरेलु कामदार) र संस्थागत (कम्पनी) को मात्रै भिसा हुन्छ । कम्पनीको स्पोन्सरसिपमा निस्कने भिसालाई नै दलालले आफू अनुकूल ‘आजाद भिसा’ को नाम दिने गरेका छन् । दलालले यो भिसामा जानेले स्वतन्त्र भएर इच्छाअनुसार काम गर्न र मनग्य पैसा पाइने भन्दै कामदारलाई प्रलोभन दिई पैसा असुल गर्ने गर्छन् । यस्तो नामका भिसाको कारोबार गर्नेलाई कतार सरकारले मानव तस्करीविरुद्ध अपराधमा मुद्दा चलाउने गरेको छ । 

मारियन ओभरसिसका संचालकले यही भिसामा पिडितलाई कतार पठाएको बुझिन्छ । कतिपय म्यानपावरले कतारमा दलालसंग मिलेर आजाद भिषामा नेपालीलाई पठाउने गरेका छन् । यस्तो किसिमको भिषामा कतार पुगेका नेपालीहरु कहिले राम्रो कम्पनीमा काम गर्ने अवसर पाए पनि अधिकांशले पिडित बन्नु परेको छ । आकर्षक कमाई हुने भन्दै लैजाने तर त्यहाँ लगेर काम गर्ने कम्पनि खोज्दा-खोज्दै समय बित्छ । काम पाईहाले पनि नेपालबाट जुन तलब भनेर पठाइएको थियो, उक्त तलब नपाउँदा युवाहरु पिडित बन्नुपरेको अवस्था छ । 

वैदेशिक रोजगार ऐनका अनुसार जुन कम्पनीका लागि श्रम स्वीकृति निकालेको हो, त्यही कम्पनीमा काम गराउनुपर्छ । कामदार, बैदेशिक रोजगार विभाग र बिमानस्थललाई समेत झुक्काएर कतार पुर्याई अलपत्र पार्न सकृय गिरोह, व्यक्ति तथा म्यानपावरलाई कारबाही गर्नुपर्ने बैदेशिक रोजगारभित्रको पुरानै बहश हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!