बैदेशिक रोजगारीमा जानेको शंख्या १७% ले घट्यो, मलेसिया ठप्प हुँदा कम्तिमा ४० अर्व गुम्यो !

Posted on: 18 Jul, 2019

अनिल अधिकारी | साउन २, काठमाडौँ | दक्षिण एसियाकै कामदारको मुख्य पकेट देश मानिएको नेपालबाट यो बर्ष गत बर्षको तुलनामा १ लाख ३ हजार ८५७ जना कमले बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । गत बर्ष नयाँ तथा नवीकरण सहित ६ लाख १२ हजार ६८५ जनाले रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएको भएपनि त्यो शंख्या एस बर्ष घटेर ५ लाख ८ हजार ८२८ मा झरेको हो । यो बर्ष बैदेशिक रोजगारीमा जानेको शंख्या ह्वात्तै गिर्नुमा मलेसिया ठप्प हुनु र खाडीको श्रम बजारमा गिरावट आउनुलाई मुख्य कारण मानिएको छ । 

पछिल्लो एक बर्षमा साउदी अरब, संयुक्त अरब इमिरेट्स यूएई, ओमन, कुवेत, कतार र बहराइनमा रोजगारको अवसर घट्दै गएको जानाकारहरुले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्न नसक्दा खाडीका कम्पनीहरुले ठूला नयाँ आयोजनाहरु सञ्चालन गर्न नसक्नुलाई पनि कारण मानिएको छ । त्यसोत नेपालमा संचालित म्यानपावर कम्पनीहरुले भने सरकार को पछिल्ला नीतिहरुको कारण बैदेशिक रोजगारीमा जाने नेपालीको शंख्या घटेको दावी गरेका छन् । पछिल्लो समय सरकारले नेपाली कामदारको सुरक्षा र श्रमको ग्यारेन्टीको लागि भन्दै सम्बन्धित देशको दुतावासहरुले प्रमाणीकरण गरेको डिमाण्डमा मात्र म्यानपावर कम्पनीहरुले कामदार पठाउन पाउने व्यवस्था छ । 

यो व्यवस्था लागु भएपछि सम्बन्धित देशका कम्पनीहरुले नेपाली कामदार लैजान झन्जटिलो भएको भन्दै नेपाली कामदारको बिकल्प खोज्न थालेको म्यान्पावर व्यवसायीहरुको धारणा छ । त्यसो त पछिल्लो बर्ष अघिल्लो बर्षको तुलनामा बैदेशिक रोजगारीमा जाने नेपालीको शंख्यामा भारी गिरावट आउनुले म्यानपावरका केहि दावीहरुलाई नकार्न सकिन्न । आर्थिक बर्ष २०७४/७५ मा मलेसिया जानको लागि अन्तिम श्रम स्वीकृति लिनेको शंख्या १ लाख ३७ हजार ३११ रहेको थियो  भने पछिल्लो आर्थिक बर्ष २०७५/७६ मा मलेसिया जान अन्तिम श्रम स्वीकृति लिनेको शंख्या ४२ हजार १४६ रहेको छ । यो तथ्यांकले पछिल्लो १२ महिनामा मलेसियाको लागि अन्तिम श्रम स्वीकृति लिनेहरुको शंख्या मात्र ९५ हजार १६५ जनाले घटेको देखाउंछ ।

अघिल्लो र पछिल्लो आर्थिक बर्षको तथ्यांक  

आर्थिक बर्ष २०७४/७५ म्यानपावर मार्फत विदेश जानेको शंख्या ३ लाख २३ हजार ८७६ थियो । जुन शंख्या घटेर आर्थिक बर्ष २०७५/७६ मा २ लाख ८ हजार ३५१ मा झर्यो । तथ्यांकको अन्तर १ लाख १५ हजार ५२५ देखिन्छ । एकै बर्षमा यो अन्तर देखिनुमा मलेसिया ठप्प हुनुलाई पहिलो कारण मान्न सकिन्छ । म्यानपावरबाट र श्रम स्वीकृति नवीकरण गर्नेको शंख्यालाई आधार मान्ने हो भने २०७४/७५ को आर्थीक बर्षमा ६ लाख १२ हजार ६८५ जनाले अन्तिम स्वीकृति लिएका थिए भने २०७५/७६ मा कुल ५ लाख ८ हजार ८२८ जनाले अन्तिम श्रम स्वीकृति लिएको देखिन्छ । यो तथ्यांकलाई आधार मानेर अघिल्लो बर्ष र पछिल्लो बर्षमा अन्तिम श्रम स्वीकृति लिनेको शंख्यामा १६.९५ प्रतिशतले अन्तर देखिन्छ । 

१४ महिनादेखि मलेसिया ठप्प हुँदा कम्तिमा ४० अर्व रेमिट्यान्स गुम्यो ! 

बैदेशिक रोजगारीमा मलेसिया ठप्प हुँदा त्यसको रेमिट्यान्समा प्रभावको विश्लेषण गर्ने हो भने मलेसिया जाने श्रम शक्तिलाई नेपालमै रोक्दा कम्तिमा ४० अर्वको रेमिट्यान्स नेपालले गुमाएको अनुमान लगाउन सकिन्छ । अझै पनि कयौं युवाहरु मलेसिया खुल्छ र रोजगारीको लागि जाउँला भनेर आशामा बसिरहेको बुझिन्छ । 

अघिल्लो आर्थिक बर्षकै तथ्यांकलाई हेर्ने हो भने त्यहि अनुपातमा मलेसियामा नेपाली कामदारको माग भएको भए पनि मलेसिया कामदार पठाउन नेपालले रोकेको कारण झन्डै १ लाख भन्दा बढी नेपालीले मलेसिया पुगेर यतिखेर काम गर्दै गरेका हुने थिए । जो अहिले मलेसिया जान नपाएको कारण नेपालमै रोकिएका छन् । उनीहरुले मासिक औशत प्रतिव्यक्ति ३५ हजार मात्र रेमिट्यान्स पठाएको भए पनि पछिल्लो १४ महिनामा कम्तिमा ४० अर्वको रेमिट्यान्स नेपालले पाउने हिसाव निकाल्न सकिन्छ । नेपालमा रोजगारीको प्रयाप्त अवसर नभएको कारण उक्त नेपालमै रोकिएको जनशक्तिले पछिल्लो १४ महिनासम्म नेपालमै महत्वपूर्ण योगदान गर्यो र ४० अर्व भन्दा बढी उपार्जनको काम गर्यो भन्ने आधारहरु छैनन् ।

मलेसियाको श्रम बजार ठप्प हुँदा त्यसको असर म्यानपावर व्यवसायीलाई मात्र नभई ट्राभल एजेन्सी, विमान कम्पनीहरु, होटल लगायत अन्यमा पनि परेको छ । नेपालीको महत्वपूर्ण श्रम बजार ठप्प बनेका कारण युवाहरु विकल्प खोज्दै छन् तर खाडीबाट पनि नेपालीहरुको लागि श्रम बजार साघुरिदै जाँदा त्यसको प्रभाव भविष्यमा अझै थप पर्ने देखिन्छ । कयौं युवाहरु अझै पनि मलेसियाको रोजगारी खुल्ने पर्खाईमा आशावादी भएर बसेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!