तीनजना नेपाली भूपू आर्मीहरु मानव तस्करको फन्दामा ! कम्बोडिया हुँदै लाओस पुर्याइयो

Posted on: 22 Feb, 2019

फागुन १०, काठमाडौँ | मानव तस्करीको एक खतरनाक गिरोहले तीन जना नेपाली भूपू आर्मिहरुलाई थाईल्याण्डमा काम लगाईदिन्छु भन्दै ठगि गरेका छन् | 

फागुन ७ गते जुन मानव तस्करहरुको गिरोहको तश्वीर सहित साझा सबाल मिडियाले समाचार सार्वजनिक गर्यो | त्यसको ठीक तीन दिन पछी सोहि गिरोहका मध्ये एकजनाले तीन जना भूपू नेपाल आर्मीहरुलाई लाओस पुर्याएर ठगि गरेको बारे जानकारी प्राप्त भएको छ  | ठगिएर लाओसमा अलपत्र परेका नेपालीहरुसँग साझा सबालले लाओसमै सम्पर्क गरेको थियो | उनीहरुसंगको संवाद तल भिडियोमा सुन्न सक्नुहुन्छ |  

उक्त गिरोहले पटक-पटक गरि पछिल्लो डेढ बर्षमा झन्डै २ दर्जन भन्दा बढीलाई ठगि गरिसकेका छन् | सोहि समुहका मध्ये एक उमेश रानाले तनहुँका बुद्धि गुरुङ, तनहुँकै सुरेश राना र उदयपुर गाईघाटका बिरेन्द्र मगरलाई थाइल्याण्ड-कम्बोडिया हुँदै लाओस पुर्याएर सम्पर्क बिहिन भएको लाओसबाट पिडित सुरेश रानाले साझा सबाललाई बताए | उनका अनुसार उनि सहित तीन जना भुतपुर्व आर्मी हुन् | भूतपूर्व आर्मीहरुलाई राम्रो तलबमा थाइल्याण्डमा काम दिलाईदिने प्रलोभन देखाई गिरोह मध्येका एक उमेश रानाले इमो मार्फत आफूहरुलाई बोलाएको र उसैको विश्वासमा थाइल्याण्ड आएको रानाले बताए |

पिडित रानाका अनुसार थाइल्याण्ड आएपछि उनीहरुलाई भिषा लगाउन जाने भन्दै १२ घण्टा गाडीमा यात्रा गराएर थाइल्याण्ड र कम्बोडियाको बोर्डर पुर्याईएको थियो त्यसपछि लाओस पुर्याइएको पिडितहरुले बताएका छन् | पिडितहरुका अनुसार उमेश रानाले उनीहरुसँग जनही ६ लाख ५० हजार लिएर सम्पर्क बिहिन भएका हुन् | 

लाओसमा अलपत्र परेका उनीहरु परिवारको आर्थिक सहयोगमा सोमबार नेपाल फर्कदैछन् | 


थाईल्याण्डसम्मको लागि टिकट


लाओसको भिषा, यो भिषामा बसेर काम गर्न पाइन्न 


माथिको तश्वीरमा: लाओस पुर्याई अलपत्र पारिएका बुद्ध बहादुर गुरुङ (तनहुँ), सुरेश राना मगर (तनहुँ) र विरेन्द्र कुमार (उदयपुर)  

जिम्मेवार निकायको ध्यानाकर्षण भएन 

एउटै गिरोहले एकै बाटो प्रायोग गरेर मानव तस्करी गरिरहेको सूचना पटक-पटक पाएर पनि सम्बन्धित निकाय भने मौन बसेको पिडितहरुले गुनाशो गरेका छन् | पिडितहरुले आफूहरु ठगिएको बारे तश्वीरसहित गुनाशो गर्दा प्रमाण नपुगेको भन्दै फर्काईएको बताए |  

यही गिरोहले यस अघि पनि पटक-पटक युवाहरुको समुहलाई लाओस पुर्याउदै सम्पर्क बिहिन बनेको भन्ने बारे पिडितहरुले जानकारी गराएको तर अहिलेसम्म तस्करहरु पक्राउ नपरेको पिडितहरुले बताएका छन् | बैदेशिक रोजगार बिभाग तथा प्रहरीसमक्ष तस्करहरुको तश्वीर सहित पिडित युवाहरुले उजुरी दिएको भएपनि जिम्मेवार निकायको ध्यानाकर्षण नहुँदा गिरोहमा संलग्न भएकाहरुले अहिलेसम्म पनि नेपाली युवाहरुलाई ठगि गरिरहेका छन् |

आफू मानव तस्करको फन्दामा परेको बताउने सुरेश राना सहित तीन जना भूपू आर्मीहरुले सोमबार नेपाल फर्केपछि उमेश राना विरुद्ध उजुरी  दिने बताएका छन् | 

यस अघि यही सम्बन्धमा प्रकाशित समाचार पढ्नुहोस् 

मानव तस्करीको रुट: नेपाल एयरपोर्टबाट थाइल्याण्ड, कम्बोडिया हुँदै लाओस, यी तस्करबाट बचौं ! 

अनिल अधिकारी । फागुन ७, काठमाडौँ । बैदेशिक रोजगारी नेपालीको लागि बाध्यता बनेको छ । यही बाध्यतालाई बुझेर कयौं युवालाई झुटो प्रलोभन देखाई करोडौं ठगि गरिएका बिषयहरु ठगिने युवाहरुको मनमै पिल्सिएर बसेका उदाहरणहरु छन् । यस्ता बिषयहरु थोरै मात्र बाहिर आउँछन् अन्यथा पिडितहरु ठगिएर आफ्नो भाग्यलाई दोष दिँदै बस्न बाध्य छन् । त्यसो त ठगिएकाहरुले दिएको सूचनालाई सरोकारवाला निकायहरुले ध्यान नदिँदा तस्करी टप मौलाउदै गएको स्पष्ट हुन सकिन्छ । 

दुई साता अघि सामाजिक संजालमा घनश्याम श्रेष्ठले 'मानव तस्करी र ठगि गर्ने यी दलालहरु देखि सबै होसियार !' भन्दै एउटा पोष्ट लेखे | जसमा पिडित श्रेष्ठले आफूलाई ठग्नेहरुको तश्वीर सहित पोष्ट गरेका थिए | उनको अनुसार तस्करहरुले उनि सहितको एक ग्रुपलाई क्यसिनोमा सेक्युरिटी गार्डको काम लगाइदिन्छु भनेर प्रलोभन देखाएका थिए । उनीहरुलाई कम्बोडियाको राजधानी फेनम पेन भन्ने ठाउँमा पुर्याएर १ बर्षको सम्झौता सहित मेडिकल र १ दिनको चालकको तालिम समेत गराइयो । त्यसको १ साता बितेपछी उनीहरुलाई लाओस पठाउन खोज्दा पिडितहरुले स-शंकित भएर त्यहाँ बस्ने नेपाली गैर-सहकारी संस्थाका सचिव लालसिङ् खड्का र थाइल्यान्डका सुरज थापालाई आफूलाई त्यस ठाउँसम्म ल्याउने एजेन्टहरुको तश्वीर देखाएर सोध-पुछ गर्दा उनीहरु दलाल हुन् भन्ने थाहा पाए ।  

तस्करको फन्दामा परेको थाहा पाएपछि ति युवाहरुले 'तिमीहरुको फोटो भिडियो भाईरल गर्दिन्छु' भनेर धम्कि दिएपछी आफ्नो राहदानी र टिकट लिन सफल भए र नेपाल फर्कन सफल भए । उनले आफू मानव तस्करको चंगुलमा फसेर नेपाल फर्कन सफल भएको वृतान्त सुनाउंदै सामाजिक संजाल मार्फत भनेका छन् 'अब उप्रान्त कोई सोझा-साझा नेपालीहरु यिनीहरुबाट नठगिउन् भनेर आज मैले यो फेसबूक मार्फत सबैलाई सचेत गराउदछु, जति सक्दो शेयर गरौँ ।' उनले थप सुझाव दिएका छन् - 'हामीहरु नेपाली सजिलैसंग विश्वास गरेर दलालको हातमा पर्छौं । फकाउछन, लोभ-लालच देखाउँछन्, अनि हामी नेपाली दाजु-भाइ, दिदी-बहिनी सजिलै दलालको फन्दामा पर्छौं । म ठगीए पनि तपाईंहरु चाही नठगिनु ।'

उनले सामाजिक संजालबाट आफूहरुलाई ठगी गर्नेको नाम र फोटो समेत सार्वजनिक गरेका छन्, जसमा सुरेश कार्की भनिने सुवाश कार्की, अभिमान भनिने उमेश राना र नवीन बस्नेत भनिने पुरन खड्का रहेका उल्लेख गरेका छन् । अर्का एक जना एजेन्ट धनकुटा घर भएका सबिन थापाको तश्वीर आफूसँग नभएको उनले उल्लेख गरेका छन् । 

मानव तस्करहरुको चंगुलमा फसेर नेपाल फर्कन सफल घनश्याम श्रेष्ठले आफूलाई ठगि गर्ने तस्करहरुको नाम र तस्वीर सार्वजनिक गरेपछी विश्व नगरकोटीले आफू सहित १० जनाको ग्रुपलाई पनि यिनै तश्करहरुले लाओस पुर्याएर ठगेको बताएका छन् । उनका अनुसार तस्करहरुले १० जनासँग जनही ४/४ लाख उठाएको बताएका छन् । 

त्यस्तै यही ग्रुपले राम घताने सहित ५ जना नेपाली युवाहरुलाई कम्बोडियामा लगेर फसाएको गुनाशो गरेका छन् । उनको अनुसार मकाउ सेक्युरिटी गार्डमा काम लगाउने भन्दै लगेर अलपत्र पारेको बताएका छन् । उनका अनुसार नेपालबाट राजु दाहाल र नविन अधिकारीले उनीहरुलाई साथ दिने गरेका छन् । 

यसअघि झन्डै डेढ बर्ष अघि यही गिरोहले नवलपरासी घर भएका सुरज भण्डारी सहित नवलपरासीकै राजीव भट्टराई, खेमराज भण्डारी, अनन्त लामिछाने लगायत १० जना ग्रुपलाई लाओस पुर्याएर ठगि गरेको साझा सबाल मिडियालाई जानकारी प्राप्त भएको छ । 

यस्तो छ साझा सबाल मिडियालाई पिडित सुरज भण्डारीले दिएको बयान: 

हामी झन्डै डेढ बर्ष अघि यही गिरोहबाट फसेका हौँ । मेरो भान्जाले यो गिरोहको एक जना सदस्य मार्फत विदेश पठाउने र मासिक १ लाख कमाउन सकिने भन्ने सुनेका रहेछन् । पहिले एजेन्टले उनलाई कम्बोडिया पुर्यायो र काम दियो । भान्जाले काम पाएको थाहा पाएपछी म सहित अरु साथीहरु पनि विश्वस्त भएर त्यहाँ जान तयार भयौं । 

नेपालको सम्पूर्ण प्रक्रिया सुमन लामा नाम गरेका एजेन्टले गर्यो । उक्त प्रक्रियाको लागि हामीले डेढ/डेढ लाख तिरेका थियौं । भिजिट भिषामा नेपालकै एयरपोर्ट प्रयोग गरेर हामी थाइल्याण्ड पुग्यौं । थाइल्याण्डमा गएर १ दिन बस्यौं । अर्को दिन थाइल्याण्ड र कम्बोडियाको बोर्डर पुग्यौं र त्यस ठाउँबाट १२ घण्टाको यात्रा गरेपछी कम्बोडियाको राजधानी पुग्यौं । त्यहाँ अशोक राना (तलको तश्वीरमा हातमा रक्सिको बोत्तल बोकेका व्यक्तिको झुटो नाम, उनको वास्तविक नाम सुरज कार्की हो) भनिने एक जना भेटियो तर पछी फसेपछि थाहा भयो उसको वास्तविक नाम अशोक राना नभएर सुवास कार्की रहेछ । उसले कम्बोडियामा वास्तविक झैँ देखिने खालको एग्रीमेन्ट पार ल्याएर हामीलाई हस्ताक्षर गरायो । अनि १/२ दिन पछी पैसा माग्यो ।

उसले नेपाल छंदै ४/५ हजार डलर बोकेर आउन भनेकाले हामीले डलर साटेर लागेका थियौं । उसले हामीलाई १ लाख तलब हुन्छ भनेको थियो । विश्वासनै विश्वासको आधारमा साटेर लगेको सबै डलर मध्ये ३/३ हजार उसलाई दियौं । त्यसपछि कम्बोडियामा रहेको हामीलाई कार्यालय अर्को ठाउँमा छ भनेर लाओस जाने बसको टिकट कटायो । अनि आफूसँग छुट्टै गाडी रहेको भन्दै लाओसमै गएर भेट्ने बतायो । त्यसपछि हामी बसमा १२/१३ घण्टाको यात्रा गर्दै लाओसतिर लाग्यौं तर उता पुगेर सम्पर्क गर्दा उ सम्पर्क बिहीन भयो । बल्ल थाहा भयो कि उसले हामीलाई ठगेको रहेछ । पहिले पुगेका भान्जालाई प्रयोग गरिएको रहेछ । हामीलाई विश्वासमा पार्न उसलाई काम दिएको झैँ गरिएको रहेछ । भान्जालाई भेटेर सोध्दा उनी आफै फसेका रहेछन । लाओस पुगेको ७/८ दिन पछी थाइल्याण्डको ट्रान्जिट हुँदै हामी नेपाल फर्कियौ । 

पिडित सुरज भण्डारी सहितले नेपाल आएर अनुसन्धान व्युरोमा समेत सहयोग मागेको बताएका छन् साथै संचार मध्यममा समेत यस बिषयमा जानकारी दिएको उनले बताए तर सवुत प्रमाण नभएका कारण आफू ठगिएको प्रमाणित हुन सकेन । अहिलेसम्म तस्करहरु कारवाहीमा नपरेको र त्यो गिरोहले सोझा-सिधा युवा ठग्न नछाडेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले भने 'हामी त फस्यौं-फस्यौं सर अरु युवा नफसुन भन्नको लागि पनि यो समाचार आम जनतामा पुर्याईदिनु हुन्छ भन्ने आशा गरेका छौं ।' 

यिनै तस्करहरुको चंगुलमा परेका अर्का पिडित चिन्तामणि थनेतका अनुसार यो ग्रुपको ठूलो संजाल छ । आफूहरुले प्रहरी तथा बैदेशिक रोजगार बिभागमा समेत उजुरी दिएको बताउँदै पिडित थनेतले आफूसँग ठगीको प्रमाण नभएपछि प्रहरीलाई उजुरी गरेको तर अहिलेसम्म प्रहरीले तस्करहरुको गिरोह पत्ता लगाउन नसकेको बताए । उनले भनेका छन् -'कतिपय कुरा समस्यामा परिसकेको पछी थाहा हुने हो, हामी यसरी ठगियौं सरकार भनेर सूचना दिँदा जिम्मेवार निकायनै गुपचुप बस्छ भने के लाग्छ । हामी फसेपछि पनि त्यहि गिरोहले अरु नेपाली युवालाई पनि ठगि गरिरहेको खबर पाउँदा निकै दु:ख लागेको छ ।' 

यस बिषयमा तपाइको प्रतिक्रिया...!