नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशन अब सातै प्रदेशमा पुग्ने

Posted on: 27 Sep, 2020

असोज ११, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशन अब सातै प्रदेशमा पुग्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशन मुलुकका सातै प्रदेश र विदेशमा बिक्री वितरण कार्य गर्न सक्ने सञ्जाल बनाएको छ । 

आधिकारिक बिक्रेता छनोटका लागि विसं २०७७ साउन २२ गते प्रथम पटक र भदौ २६ गते दोस्रो पटक गोरखापत्र राष्ट्रिय दैनिकमा सार्वजनिक सूचनामार्फत बोलपत्र आह्वान गरेकामा थियो । निर्धारित सर्तका अधीनमा रही पुस्तक तथा पत्रपत्रिका वितरण गर्न तयार भएका बोलपत्रदातामध्ये मकालु प्रकाशन गृहको बोलपत्र रितपूर्वक हुन आएकाले स्वीकृत भई सम्झौता भएको छ । 

सम्झौता पत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट सदस्य सचिव प्रा जगतप्रसाद उपाध्याय र मकालु प्रकाशन गृहका तर्फबाट प्रबन्ध निर्देशक वासुदेव ढकालले हस्ताक्षर गर्नुभएको छ । प्रा उपाध्यायले प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक गौरवका रूपमा रहेका नेपाली बृहत् शब्दकोशका साथै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, सामाजिक शास्त्रलगायत विषयसँग सम्बद्ध ग्रन्थ र पत्रपत्रिकालाई मकालु प्रकाशन गृहले देशका सबै प्रदेशअन्तर्गत रहेका जिल्ला र विदेशमा समेत पुर्याउनेमा प्रज्ञा–प्रतिष्ठान विश्वस्त रहेको धारणा व्यक्त गर्नुभयो ।

मकालु प्रकाशन गृहका वासुदेव ढकालले प्रज्ञा–प्रतिष्ठानका सम्पूर्ण प्रकाशन सम्झौता बमोजिम नै देशका सबै भागमा र विदेशमा पुर्याउने प्रतिबद्धता जाहेर गर्नुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!