अब यी २१ जिल्लामा पेट्रोलियम पदार्थ ड्रममा राखेर बेच्न पाइन्छ

Posted on: 07 Jul, 2020

असार २३, काठमाडौँ | नेपाल आयल निगमले बिभिन्न २१ वटा दुर्गम जिल्लामा ड्रम वा सुरक्षित भण्डारणमा राखेर पेट्रोलियम पदार्थ बेच्ने विक्रेता नियुक्त गर्न आवेदन माग गरेको छ । 

सरकारले दुर्गम भनेर तोकेको २१ जिल्लामा प्याक्ट (ड्रम वा सुरक्षित भण्डारणमा राखेर पेट्रोलियम पदार्थ बेच्ने) विक्रेता बन्न चाहनेहरूका लागि आवेदन खुल्ला गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । दुर्गम जिल्लामा विकास निर्माण कार्य तथा अन्य खपतका लागि चाहिने मुख्यतः डिजेल बिक्री गर्न विक्रेता नियुक्त गर्न खोजिएको प्रवक्ता उपाध्यायले बताए ।

ड्रम र ट्यांकीमा राखेर खुद्रामा पेट्रोलियम बिक्री गर्न चाहने संस्था वा व्यक्तिले निगमको प्रादेशिक तथा केन्द्रीय कार्यालयमा निवेदन गर्न सकिने निगमले जनाएको छ ।

यसरी इन्धन बेच्न पाइने जिल्लाहरुमा दार्चुला, मुगु, बझाङ, दैलेख, कालीकोट, जाजारकोट, बाजुरा, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, रुकुम पूर्व र पश्चिम, रोल्पा, संखुवासभा, खोटाङ, भोजपुर, ओखलढुंगा अछाम र सोलुखुम्बु जिल्ला रहेका छन् ।

ड्रममा राखेर तीन हजार तथा चार हजार लिटरसम्म पेट्रोलियम पदार्थ बिक्री गर्न पाइनेछ । देशभरका विकट जिल्लामा हाल ११० वटा प्याक्ट विक्रेता रहेको निगमले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!