फागुन १ गते रोजगारी दिवस मनाउने सरकारको निर्णय

Posted on: 21 Feb, 2019

फागुन ९, काठमाडौं । सरकारले अबदेखि फागुन १ गतेलाई रोजगारी दिवस मनाउने निर्णय गरेको छ। गत शुक्रबारको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा भएको दिनको सम्झनाका रुपमा फागुन १ गते रोजगारी दिवस मनाउने निर्णय गरेको हो । 

प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीलाई एक कदम अघि लैजाने ऐतिहासिक दिन भएकाले हरेक वर्ष फागुन १ गते रोजगारी  दिवस मनाइने घोषणा गरेका थिए । उनकै घोषणा अनुरुप मन्त्रिपरिषद्को बैठकले फागुन १ गते रोजगारी दिवस मनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए। 

स्वदेशभित्र रोजगारीका पर्याप्त अवसरहरुको सिर्जना र कामलाई सम्मान गर्ने संस्कृतिको विकास गरी रोजगारीका लागि विदेश जानुपर्ने वाध्यात्मक अवस्थाको अन्त्य गर्ने  लक्ष्यका साथ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो ।सबै नागरिकलाई न्यूनतम रोजगारीको प्रत्याभूति गरी मौलिक हकका रुपमा रहेको रोजगारीको हकको कार्यान्वयन गर्ने, आन्तरिक रोजगारी र उद्यमशीलताको प्रवद्र्धन गरी वैदेशिक रोजगारीको बढ्दो निर्भरतालाई कम गर्ने, कामका लागि पारिश्रमिक मार्फत गरिबी न्यूनीकरण र सामाजिक संरक्षणमा योगदान पुर्याउने र स्थानीय स्तरमा विकास निर्माण कार्यमार्फत सार्वजनिक पूँजी निर्माण गरी स्थानीय जनताको जीवनस्तर सुधार गर्न मद्धत पुयाउने यो कार्यक्रम सरकारले ल्याएको छ । 

यस कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा न्यूनतम १ सय दिन बराबरको रोजगारी, रोजगार सूचना, परामर्श र सहजीकरण, व्यावसायिक तथा सीप विकास तालिम दिइनेछ। बेरोजगार परिवारलाई भने रोजगारी प्राप्त नगरेको अवस्थामा रोजगारी नपाएको दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशतका दरले हुन आउने रकम निर्वाह भत्ताको रुपमा परिवारको एक जनालाई बैंक खातामा भुक्तानी उपलब्ध गराइनेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!