रवि लामिछानेको विषय संसदमा उठ्यो, कसले के भने ?

Posted on: 20 Aug, 2019

 भदौ ३, काठमाडौं । न्युज २४ टेलिभिजन सिधाकुरा जनता संग कार्यक्रमका प्रस्तोता रवि लामिछाने पक्राउको विषय मंगलबार प्रतिनिधिसभामा पनि उठेको छ । पत्रकार शालिकाराम पुडासैनी आत्महत्याको विषयमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि चितवनका सडकमा भइरहेका गतिविधिले अनुसन्धान प्रभावित पार्न सक्ने सांसदहरुले बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको बताइन् । ‘को दोषी को निर्दोष भन्ने सवाल चलिरहेको बेला अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही मान्न सकिदैन’ उनले भनिन्, ‘यस्तो बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ ।’

त्यस्तै नेकपा सांसद हितबहादुर तामाङले चितवनको सडकमा गैरसंवैधानिक खालको नारा लागिरहेको भन्दै त्यसलाई सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताए । ‘अहिले चितवनका सडकमा प्रदर्शनका क्रममा गैरसंवैधानिक खालको नारा लाग्न थालेको पनि सुन्न आएको छ । त्यसलाई तुरुन्त नियन्त्रण गर्न नेपाल सरकार लागि परोस्’ उनले भने, ‘राज्यले कुनै पक्षबाट पनि प्रभावित नभइ निष्पक्ष रुपमा छानबिन गर्नुपर्छ ।’

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि प्रहरीले आत्महत्यालाई दुरुत्साहन अभियोगमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको छ । तर, लामिछाने पक्राउको बिरोधमा चितवनको सडकमा दैनिकजसो नाराबाजी भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!