७० घरपरिवारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

Posted on: 22 Sep, 2020

असोज ६, गण्डकी । नेलम्बो नेपालले माछापुच्छ्रे  गाउँपालिका–७ धम्पुसस्थित ढाँडावासीका ७० घरपरिवारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । संस्थाले ११ वटा डस्टबिन, प्रतिघर एउटा हातधुने साबुन र कुल ३३० व्यक्तिलाई पुनःप्रयोग गर्न मिल्ने एन–९५ मास्क तथा स्वास्थ्य सचेतनामूलक ब्रोसर स्थानीय सिर्जना सांस्कृतिक परिवारलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । संस्थाका तर्फबाट कुल रु ५६ हजार बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जनसम्पर्क सुपरभाइजर भीमप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले कोभिड–१९ को महामारीमा सबै जना एकजुट भएर लाग्नुपर्ने भन्दै सबैले सामाजिक दूरीलाई ख्याल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अनिवार्य मास्क लगाउन, साबुनपानीले मिचीमिची हात धुन वा स्यानिटाइजर लगाउन आग्रह गर्दै उहाँले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम संयोजक डा किसन कोइराला, सिर्जना सांस्कृतिक परिवारका अध्यक्ष रामचन्द्र भण्डारी, देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद भण्डारी, जनप्रतिनिधि कृष्णप्रसाद भण्डारीलगायतले उपलब्ध सामग्रीको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

बाढीपहिरोपीडितलाई आर्थिक सहयोग 

सर्वोच्च नेता गणेशमान सिंहको २३औँ स्मृति दिवसको अवसरमा तरुण दल कास्कीले शुरु गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमबार बाढीपहिरोपीडितलाई आर्थिक सहयोग गरिएको छ ।

तरुण दल कास्कीले कास्की क्षेत्र नं ३ अन्तर्गत अन्नपूर्ण गाउँपालिका–१ का विष्णु परियार, वडा नं २ का ऋषिराम अधिकारी, रामजी भण्डारी र राजाराम भण्डारीलाई जनही रु पाँच÷पाँच हजारका दरले सहयोग गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस कास्कीका उपसभापति आइबहादुर गुरुङले लौहपुरुष गणेशमान सिंहको सम्झना गर्दै तरुणहरू पनि उहाँले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने बताउनुभयो ।

तरुण दलले गरेको कामको प्रशंसा गर्दै उहाँले आगामी दिनमा पनि यस्तै सामाजिक कार्यमा जागरुक हुन सक्नुपर्ने उल्लेख गर्नुभयो । तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले पार्टीलाई सशक्त बनाउन युवा तरुणको महत्वपूर्ण भूमिका आवश्यक रहेको बताउनुभयो । लौहपुरुषको सम्झनामा तरुण दल सुखमा मात्र नभई दुःखमा पनि साथमै छ भन्ने सन्देश दिन आफूहरुले थोरै भए पनि आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो । सप्ताहव्यापी कार्यक्रम भएकाले आगामी दिनमा कास्कीको अन्य स्थानमा पनि आर्थिक सहयोग गर्ने योजना रहेको उहाँको भनाइ छ ।

रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!