पोखरा सराङकोटको पहिरोः मृतकको सङ्ख्या पाँच पुग्यो

Posted on: 10 Jul, 2020

असार २६, कास्की | पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा  टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । 

पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उहाँका श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, छ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

घटनामा थापाका परिवारका सदस्य, आफन्त तथा छिमेकी गरी आठ जना  घाइते भएका छन् । घाइते २२ वर्षीया पिङ्की थापा, १८ वर्षीया आशा थापा र  पिङ्कीका छोरी पाँच वर्षीया पिरिसा थापाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी तनहुँ दमौलीका टङ्कबहादुर थापाका साली २८ वर्षीया सरस्वती श्रेष्ठ उहाँका छोरा वर्ष १० का सन्देश श्रेष्ठ तथा छिमेकी पोखरा–१८ बस्ने १९ वर्षीय अनिस तामाङ, वर्ष १९ का रशि थापामगर र १९ वर्षीय रश्मी थापामगरको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घाइतेको टाउको, छाती, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोटपटक अस्पतालका चिकित्सक डा असिम सुवेदीले जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइन्छ । गएराति घरमाथिबाट आएको पहिराले थापाको घर पुरेको थियो ।

पिङ्की थापाको जन्मदिन मनाउने कार्यक्रमसहित घरमा छिमेकी तथा आफन्त भेला भएका थिए । तनहुँका सरस्वती दुई छोरासहित दिदीको घरमा आउनुभएको थियो । पोखराका विभिन्न ठाउँमा गएरातिको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ ।

यसअघि पोखरा–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरामा पुरिँदा उहाँका आमा ७० वर्षीया हिमकलीको घटनास्थलमै मृत्यु भएको थियो । वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!