पोखरा : तीन वडा जोड्ने सडक स्तरोन्नति गरिँदै

Posted on: 15 Jun, 2019

 जेठ ३२, पोखरा । पोखरा महानगरपालिकाको तीन वडा जोड्ने फुलबारी, भलाम हुँदै बाटुलेचौरसम्मको  सडक स्तरोन्नति गर्न थालिएकोे छ । वडा नं ११ फूलबारीदेखि वडा नं २० को मुख्य केन्द्र भलाम र वडा नं १६ बाटुलेचौर जोड्ने कूल ११ मिलोमिटर सो बाटो प्रदेश सरकारबाट उपलब्ध रु चार करोड ४० लाखको लागतमा स्तरोन्नति भइरहेको बाटो उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर गौतमले जानकारी दिनुभयो ।

पोखरा बजारको वैकल्पिक बाटोको रुपमा लिइएको नालासहित नौ मिटर चौडाइको सो बाटो फराकिलो बनाउने क्रमसँगै हिमपाइप राख्नाका साथै आवश्यकता अनुसार पर्खालसमेत निर्माण गरिएको उहाँको भनाइ थियो ।

तीन दशक अघि ट्र्याक खोलिएको सो बाटोको स्तरोन्नतिसँगै तीन वटै वडाका जनतालाई पोखरा आवतजावतमा सुविधा पुग्ने बताउँदै अध्यक्ष गौतमले निर्माणका क्रममा जग्गा धनीसँग केही विवाद भए पनि आपसी समझदारीका आधारमा  समाधान  खोजिएको बताउनुभयो ।

पोखरा २० का वडाध्यक्ष सिम गुरुङले सो निर्माणाधीन बाटोे निरीक्षण गर्दै तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो । सडक निर्माण वडाको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले विकास निर्माणमा स्थानीयवासीको रेखदेखले  महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!