जनअपेक्षाअनुरुप सरकार अघि बढ्न सकेन: डा भट्टराई

Posted on: 15 Feb, 2019

फागुन ३, पोखरा | नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको बताउनुभएको छ । 

संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछिको सरकार भएकाले जनताले यसबाट धेरै अपेक्षा गरेको बताउनुभयो । 

सरकारले जनचाहनाअनुरुप क्रमभङ्ग हुने गरी विकासमा फड्को मार्नुपर्ने भए पनि केवल सामान्य क्रमिक विकासका क्रममा अघि बढेको बताउँदै उहाँले देशको अर्थतन्त्र पनि मजबुत बन्न नसकेको उल्लेख गर्नुभयो । 

गरीबी, बेरोजगारीको समस्या बढ्दै गएको चर्चा गर्दै डा भट्टराईले औषत प्रतिव्यक्ति आय रु १० हजार डलर पु¥याउन दुई दशकसम्म आर्थिक वृद्धिदर दुई अङ्कमा बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न नसक्दासम्म समृद्धि असम्भव भएको उल्लेख गर्दै उहाँले लगानीको वातावरण तयार गर्दै अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । 

समृद्धिका लागि सडक पूर्वाधार विकास आवश्यक रहेको औँल्याउँदै उहाँले तराई हुलाकीमार्ग, मध्यपहाडी हुलाकीमार्गका साथै उत्तरदक्षिण जोड्ने गरी कोशी, कालीगण्डकी, कर्णाली करिडोरलगायतको निर्माणकार्यलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिनुभयो । 

नयाँ शक्ति पार्टीले असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा जारी राखेको बताउँदै उहाँले यात्राका क्रममा मध्यपहाडी राजमार्गको निर्माणकार्यको अवलोकन, आसपासको जनजीवनको अध्ययन, समस्याको पहिचान र राष्ट्रिय जीवनका महत्वपूर्ण सवालमा सर्वसाधारणसँग संवाद गरिएको बताउनुभयो । 

उहाँका अनुसार यात्रा फागुन १५ गते बैतडीको झुलाघाँट पुगी गठलापानीमा समापन गरिनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!