‘विकासका लागि स्थानीय अग्रसर हुनुपर्छ’ - गण्डकी प्रदेशका मुख्य मन्त्री

Posted on: 24 Dec, 2018

पुष ९, दमौली (रासस) | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि स्थानीय आफै अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ । 

तनहुँ उद्योग वाणिज्य सङ्घ दुलेगौँडा बजार एकाइको आयोजनामा आजदेखि शुरु भएको प्रथम शुक्लागण्डकी महोत्सवको उद्घाटन गर्दै उहाँले स्थानीय अग्रसर नभएसम्म विकास असम्भव रहेको बताउनुभयो । उहाँले विकासका लागि सङ्घीय र प्रदेश सरकार सहयोगी बन्न सक्ने बताउँदै स्थानीयको अग्रसरता र सरकारको सहयोगले मात्रै विकास सम्भव रहेको धारणा व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री गुरुङले ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा सबै जनताको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो । शुक्लागण्डकी नगरपालिकालाई स्याटलाइट सिटीको रुपमा विकास गर्ने सरकारको सोच रहेकोले त्यसको लागि योजना सरकारले बनाइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले प्रदेशभित्र हाल १४ प्रतिशत जनता गरिबीको रेखामुनी रहेकोले ५ वर्षभित्र गरिबीलाई ७ प्रतिशतमा झार्ने र १० वर्षभित्र गरिबमुक्त प्रदेश बनाउने योजनाका साथ सरकार लागि परेको बताउनुभयो । 

कार्यक्रममा राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, प्रदेशसभा सदस्य आशा कोइराला, मोहन रेग्मी, प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेल, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, नगरपालिकाका प्रमुख किसान गुरुङ, तनहुँ उद्योग वाणिज्य सङ्घ एकाइ सभापति राजकुमार वाग्ले, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य पिएल श्रेष्ठलगायतले स्थानीय उत्पादनको बजारीकरणमा गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

पुस १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा रु पाँच करोडको आर्थिक कारोवार हुने र तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको प्रवक्ता हरिबहादुर खड्काले बताउनुभयो । महोत्सवमा २०० कक्ष रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!