थप २५ जनामा कोरोना संक्रमण पुष्टि, स-शुल्क परीक्षण सम्बन्धमा मन्त्रालयद्वारा ध्यानाकर्षण

Posted on: 20 May, 2020

जेठ ७, काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । 

धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । 

उनीहरू मध्ये बाँकेमा ६ जनामा छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।

पछिल्ला संक्रमितहरुमा नरैनापुर–५ मा १७, २०, २८, ३० र ४० वर्षका पुरुष रहेका छन्, त्यसैगरी खजुरा गाउँपालिकाका २७ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

त्यस्तै नवलपरासीमा पनि एक जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार विहान कपिलवस्तुमा १३ जना र मंगलबार बेलुका धनकुटामा ५ जना कोरोना संक्रमित भेटिएका थिए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!