कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु

Posted on: 04 Jun, 2019

जेठ २१, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ कालापानीका ६२ वर्षीय सरस्वती मल्लको आज ट्र्याक्टरले ठक्कर दिँदा मृत्यु भएको छ । कसरौलबाट कालापानीतर्फ जाँदै गरेको से १ त ७१२२ नम्बरको ट्र्याक्टरले मल्ललाई ठक्कर दिएर शक्त घाइते बनाएपछि उपचारका लागि महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । 

घरबाट फरुवामा धार लगाउन नजिकैको आरन व्यवसायी कहाँ जाँदै गर्दा मल्ललाई  ट्र्याक्टरले ठक्कर दिएको थियो । ठक्कर दिने ट्र्याक्टरसहित चालक २७ वर्षीय धु्रवसिंह रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मल्लको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । 

बुधबार सार्वजनिक बिदा

नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘इदुल्ल फित्र’ का अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको छ । 

नेपाल सरकार मन्त्रिपरिषद्को १० जेठमा बसेको बैठकले यस पर्वका दिन बिदा दिने निर्णयानुसार सो निर्णय भएको गृहमन्त्रालयका शाखा अधिकृत अशोककुमार राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले मुस्लिम आयोगको पहलमा विभिन्न संस्थाको सोमबार बसेको बैठकले सरकारसँग बुधबार सार्वजनिक बिदाको माग गरेको थियो । आयोगको सुझावलाई ध्यान दिँदै गृहमन्त्रालयले यो निर्णय गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!