निर्मलाको न्यायको लागि गरिएको धर्ना कार्यक्रम आजबाट समाप्त

Posted on: 22 Feb, 2019

भाष्कर के.सी | फाल्गुन १०, कञ्चनपुर | साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको आजदेखि ठिक सात महिना पुरा भएर आठौं महिनामा लाग्दा पनि अहिलेसम्म निर्मलाका दोषी, अपराधी पत्ता लाग्न सकेको छैन । 


निर्मलाको न्यायको लागि भन्दै विभिन्न प्रकारका आन्दोलन भए । थुप्रै आन्दोलनका क्रममा घाइते भए जसमध्ये अजुर्न भण्डारा अहिलेसम्म पनि राम्रो सँग होसमा आउन सकेका छैनन् भने १ जना सन्नी खुना सहिद पनि भए तर अहिलेसम्म अपराधीको पत्ता लाग्न सकेको छैंन । 

छोरी निर्मलाको न्यायको लागि भन्दै कार्तिक २५ गते देखि धर्नामा बसेका आमा बुवाले पनि आज फाल्गुन १० गते देखि धर्ना कार्यक्रम समाप्त गरेका छन् । आफुहरुलाई (निर्मलाका कान्छि आमा र बुवा) स्वाथ्यमा समस्या देखिएकाले साथै  निर्मलाको बुवालाई उपचारको लागि समय समयमा काठमाडौंमा जानु पर्ने हुनाले आफुहरुले धर्ना कार्यक्रम समाप्त गर्न लागेको यज्ञराज पन्तले बताए । 


धर्ना कार्यक्रम समाप्त गर्नु भन्दा पहिले जिल्ला प्रशासन कार्यलयका सहायक जिल्ला अधिकारी शंकर विष्ट मार्फत प्रधानमन्त्रीलाई आफना माग सहितको ज्ञापन पत्र बुझाएका छन् । 

उक्त ज्ञापन पत्र बुझदै सहायक जिल्ला अधिकारी विष्टले सरकार न्यायको लागि लागि परेको छ,  छिटो भन्दा छिटो अपराधी पत्ता लगाउन सरकार निरन्तर लागेको छ । वहाँहरुको स्वास्थ्यको विचार गर्दै आफुहरुले पटक पटक धर्ना समाप्त गर्न आग्रह गरेको साथै आफु रहेमा मात्र न्यायको औचित्य हुने हुनाले आफनो स्वास्थ्य ख्याल गरी न्यायको लागि लाग्नु पर्ने बताए ।

वृद्ध महिला दिलमाया खरेल र सानो बालकको हात बाट जुस खाएर १०५दिनको लामो धर्ना कार्यक्रम समाप्त गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!