भारतीय पक्षले बखेडा झिकेपछि हुलाकी सडक कालोपत्र गर्ने कार्य अन्योलमा

Posted on: 01 Sep, 2019

सिद्धराज भट्ट | निर्माणाधीन राष्ट्रिय गौरवको हुलाकी सडक निर्माण भएको भूमि आफूहरुको भएको भन्दै भारतीय पक्षले बखेडा झिकेपछि कञ्चनपुरको पचुई हुलाकी सडकखण्डमा कालोपत्र गर्ने कार्य अन्योलमा परेको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बखेडा झिकेपछि बेलौरी नगरपालिकको पचुई हुलाकी सडकखण्डमा कालोपत्र गर्ने काम अघि बढ्न नसकेको हुलाकी सडक आयोजना कार्यालयका सूचना अधिकारी पदमबहादुर मडैले जानकारी दिनुभयो ।

यसैगरी हुलाकी सडकको आन्तिम विन्दु कञ्चनपुरको दैजीबजार नजिकको बल्मीखोलामा सडक डिभिजन कार्यालयले पुल निर्माणका लागि पहिले नै पिलर खडा गरेकामा थप निर्माणकार्य अघि बढ्न सकेको छैन । पुलको थप काम अघि नबढ्दा समयमै हुलाकी सडक निर्माण पूरा गर्न समस्या देखिएको बताइएको छ ।

कञ्चनपुरको पूर्वी सीमा डोकेबजारदेखि पूर्वपश्चिम राजमार्गमा पर्ने दैजीबजारसम्म निर्माण भइरहेको सो सडक ६२ किलोमिटर लामो छ । यो जिल्लामा पर्ने हुलाकी सडकखण्डको निर्माणकार्य आगामी चैत महीनामा सक्ने लक्ष्य लिइएको छ ।

कैलालीको धनगढीदेखि पूर्व कटैनी नदीसम्मको ३१ किलोमिटर हुलाकी सडकखण्डको मर्मतसम्भारको काम अघि बढ्न लागेको छ । धनगढीको क्याम्पस चोकदेखि मोहना पुलसम्म निर्माण गर्नुपर्ने छ दशमलव पाँच किलोमिटर लामो हुलाकी सडकको सट्टा बाइपास सडक निर्माणकार्य भइरहेको छ ।

सरोकारवाला बीच भएको समझदारी बमोजिम यो क्षेत्रमा ३० मिटर चौडा हुलाकी सडकको सट्टा १२ मिटर बाइपास सडक निर्माण थालिएको हो । हुलाकी सडक निर्माण गर्दा घरजग्गा मासिएर आफूहरु समस्यामा पर्ने भन्दै शुरुको अवस्थामा स्थानीयवासीले विरोध गरेपछि सडक निर्माण अघि बढ्न सकेको थिएन । 

कैलालीको वसन्ता वन क्षेत्रको दुई किलोमिटर क्षेत्रमा रुख कटानी गर्नुपर्ने भएका कारण रोकिएको हुलाकी सडकको निर्माण लामो समयपछि अघि बढ्ने देखिएको छ । सो क्षेत्रमा सडक निर्माण गर्न वातावरणीय प्रभाव मूल्याङ्कन (आइइई) स्वीकृत भइसकेकाले काम अघि बढ्ने देखिएको सूचना अधिकारी मडैले बताउनुभयो । धनगढीदेखि पूर्व सत्तीचोकसम्मको ६२ किलोमिटर लामो हुलाकी सडकमध्ये वसन्ता वन क्षेत्रमा निर्माण गर्नुपर्ने सडकबाहेक सबै भागमा निर्माण पूरा भइसकेको छ । लम्कीदेखि टीकापुर हुँदै खक्रौलासम्मको २७ किलोमिटर लामो अर्को हुलाकी सडकको निर्माण पूरा भइसकेको छ ।

निर्माण हुँदै भत्किँदै

कालोपत्रे गरिएको हुलाकी सडक एक डेढ वर्षमै ठाउँ–ठाउँमा भत्किन थालेको छ । गुणस्तरी काम नगरेका कारण सडक भत्किने समस्या देखिए पनि नियमनकारी निकायले बेवास्ता गरेको स्थानीवासीको गुनासो छ । कञ्चनपुरको डोकेबजारदेखि पश्चिमतर्फको सडक, धनगढीदेखि पूर्व जाने सडक, लम्की खक्रौला सडकको कालोपत्र ठाउँ–ठाउँमा भत्किँदा आवागमन त्यति सहज नभएको गुनासो सर्वसाधारणको छ । 

योजना आयोगबाट अनुगमन

राष्ट्रिय योजना आयोगको टोलीले कञ्चनपुरमा निर्माणाधीन हुलाकी राजमार्ग सडक आयोजनाका साथै राष्ट्रिय प्राथमिकता प्राप्त निर्माणाधीन महाकाली सिँचाइ तेस्रो चरणको आयोजना र महाकाली सडक सुधार तथा विकास आयोजनाको कार्यमा देखापरेका समस्याबारेमा शनिबार स्थलगत रुपमा अनुगमन निरीक्षण गरेको थियो ।

निरीक्षणका क्रममा आयोगको टोलीलाई सम्बन्धित आयोजनाका अधिकृतले निर्माणसम्बन्धी प्रगति र देखिएका समस्याबारे जानकारी गराउनुभएको थियो । आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलको नेतृत्वमा रहेको टोलीमा सदस्य सुशील भट्ट, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, प्रदेशसभा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रमुख सचेतक तारा लामा तामाङलगायत सहभागी हुनुहुन्थ्यो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!